मधेश प्रदेशका जिल्लाहरूमा ४० प्रतिशत लक्षित समूहले लगाए एचपीभी खोप

Sagarmatha Post
Sagarmatha Post २९ माघ २०८१, मंगलवार
3 Min Read
Aa

जनकपुरधाम । महिलाहरूको पाठेघरको मुखमा लाग्ने क्यान्सर रोग विरुद्धको नेपाल सरकारले प्रदान गरेको निःशुल्क एचपीभी खोप मधेश प्रदेशका जिल्लाहरूमा ४० प्रतिशत लक्षित समूहले लगाएको छ । मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयका खोप प्रमुख लक्ष्मेश्वर झाले सरस्वती पूजाका कारणले विद्यालयहरू प्रभावित भएको र गत आइतबारबाट विद्यार्थीहरू विद्यालय फर्केकाले माघ २७ गतेबाट खोप कार्यक्रमले गति लिएको जानकारी दिनुभएको हो ।

मधेश प्रदेशका जिल्लाहरूमा हिजो साँझसम्ममा १ लाख ४८ हजार ४ सय २८ लक्षित उमेर समूहका किशोरीहरूले खोप लगाएको निर्देशनालयले जनाएको छ । मधेश प्रदेशमा ३ लाख ६९ हजार १ सय २४ जना किशोरीहरूलाई एचपिभि खोप लगाउने कार्यक्रम रहेको छ । लक्षित वर्ग मध्ये विद्यालय बाहिर रहेका ७५ हजार २ सय ११ किशोरीलाई अन्तिम दिन सम्बन्धि वडाको स्वास्थ्य संस्थामा खोप दिने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ ।

नेपाल सरकारले देशको ७७ वटै जिल्लाहरूमा माघ २२ गतेबाट फागुन ६ गतेसम्म कक्षा ६ देखि १० सम्मका छात्रा तथा १० वर्ष देखि १४ वर्षका किशोरीहरूलाई पाठेघरको मुखमा लाग्ने क्यान्सर रोग विरुद्धको एचपिभि खोप दिने कार्यक्रम जारी राखेको छ । पाठे घरमा लाग्ने क्यान्सर रोगको रोकथामका लागि निक्कै प्रभावकारी रहेको एचपिभि खोप निक्कै महँगो भएकाले सरकारले निःशुल्क रुपमा दिन थालेकाले कसैले छुटाउन नहुने विषयमा स्वास्थ्य निर्देशनालय गम्भीर भएको स्वास्थ्य निर्देशक श्रवण कुमार नायकले बताउनु भयो ।

जिल्लागत रुपमा मधेश प्रदेशमा सबैभन्दा बढी बारा जिल्लामा ४८ प्रतिशत किशोरीले खोप लगाइसकेका छन् भने सबै भन्दा कम महोत्तरीमा लगाएका छन् । महोत्तरी जिल्लामा ३१ प्रतिशतले मात्र खोप लगाएको मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । अन्य जिल्लाहरूमा सप्तरीमा ४१ प्रतिशत, सिरहामा ४० प्रतिशत, धनुषामा ४० प्रतिशत, सर्लाहीमा ३९, रौतहटमा ४४ प्रतिशत र पर्सा जिल्लामा ३९ प्रतिशत किशोरीहरूले खोप लगाएका छन् ।

नेपालमा सरदर रुपामा पाठेघरको क्यान्सर रोग लागेका ६ जना मध्ये ४ जनाको मृत्यु हुने गरेकाले निक्कै प्राणघातक रोग भएकाले यसबाट किशोरीहरूलाई सुरक्षित राख्नका लागि अभियानको रुपमा नै खोप दिन थालेको छ । जीवनमा एक पटक लगाएपछि सधैँका लागि रोग लाग्नबाट सुरक्षित बनाउने भएकाले खोप खोजी खोजी लिन जरुरी रहेको स्वास्थ्य कर्मीहरूले बताएका छन् । खोप लिएकाहरूमा हालसम्म कुनै प्रकारको साइड ईफेक्ट पनि नदेखिएको निर्देशनालयका खोप शाखा प्रमुख झाले जानकारी दिनु भयो । खोप कार्यक्रमलाई शत प्रतिशत पुर्‍याउनका लागि निर्देशनालयलाई थप समय दिनु परेपनि दिने उहाँले बताउनुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्