बाढीबाट क्षति पुगेको बिपी राजमार्ग आगामी बर्षायाममा समेत निरन्तर सञ्चालन हुनेगरी काम भइरहेछ : मन्त्री दाहाल

Sagarmatha Post
Sagarmatha Post २ फाल्गुन २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गत असोजको बाढीबाट क्षति पुगेको बिपी राजमार्ग आगामी बर्षायाममा समेत निरन्तर सञ्चालन हुनेगरी काम भइरहेको बताउनुभएको छ । मन्त्रालयको दुई सय दिनका उपलब्धिबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री दाहालले श्रोतको अभावका कारण क्षतिग्रस्त राजमार्गको पुनः निर्माणमा ढिलाइ भए पनि आउँदो वर्षामा समेत सडक सञ्चालन गर्न सकिने गरी अस्थायी संरचनाहरू बनिरहेको बताउनुभयो ।

मन्त्री दाहालले राजमार्गको पुरानो रेखाङ्कन र स्वरूप नै परिवर्तन गर्नुपर्ने भएकाले पुनर्निर्माणका क्रममा नीतिगत समस्या र श्रोतको अभाव भएको बताउनुभयो । पत्रकार सम्मेलनमा मन्त्री दाहालले मन्त्रालयको नेतृत्व सम्हालेपछिको प्रगति विवरण सुनाउँदै यस बीचमा २ सय ४६ किलोमिटर २ लेनको र करिब ३१ किलोमिटर २ लेनभन्दा माथिको नयाँ सडक कालोपत्र भएको र ४१ वटा पुल निर्माण भएको बताउनुभयो ।

भौतिक मन्त्रालयले २ सय दिनका लागि १२ कामका क्षेत्रमा लक्ष्य किटान गरी प्रधानमन्त्री समक्ष कार्यसम्पादन सम्झौता गरेकोमा असोजको बाढी पहिरोका कारण लक्ष्य हासिल गर्न अवरोध पुगे पनि कार्यप्रगति लक्ष्य उन्मुख रहेको र राष्ट्रिय गौरवका आयोजनाहरूमा लक्ष्यअनुरूप नै कार्यप्रगति भएको मन्त्री दाहालले जानकारी दिनुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्