रबिन थपलिया । काठमाण्डौं । फागुन २२ । उच्च अदालत पाटनले तारकेश्वर नगरपालिका वडा नं १० स्थीत मानसिंह धर्म मा.वि को निमित्त प्रधानाध्यापक नियुक्ती बदरको माग गदै दायर गरेको रिट खारेज गरेको छ ।
उच्च अदालतका न्यायधीश कैलाश सुवेदी र लेखनाथ पौडेलको संयुक्त इजलासले हिजो उक्त रिट खारेज गरिदिएको हो । विद्यालयका पुर्व निमित्त प्रधानाध्यापक नारायण जंघ थापाले आर्थिक हिनामिना गरेको आशंकामा मानसिंह धर्म मा.विको विद्यालय व्यवस्थापन समितिले २०८० असोज २६ गते थापालाई निमित्त प्रधानाध्यापकबाट हटाएर विद्यालयकै अर्का सहायक प्रधानाध्यापक केदार प्रसाद गजुरेललाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएको थियो ।
विद्यालयको अडिटबाट समेत आ.व २०७८/७९ र २०७९/०८० मा पुर्व निमित्त प्रधानाध्यापक थापाले आर्थिक अनियमितता गरेको देखिएपछि मानसिंह व्यवस्थापनले जिम्मेवारीबाट मुक्त गरेर छानविन समिति समेत बनाएको थियो । विद्यालय श्रोतका अनुसार थापाले लेखाको सामान्य सिद्धान्त समेतलाई अबलम्बन नगरी साधारण बिलबाट हजारौं अस्वभावीक खर्च देखाएका थिए । त्यती मात्र होइ्न थापाले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीबाट उठाएको शुल्कबाट खसीको टाउको देखि बिभिन्न सामान किनेका बिलहरु समेत सच्याएर भुक्तानी लिएको भेटिएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार राईको अध्यक्षतामा बसेको बैठकले थापालाई जिम्मेवारी मुक्त गरेको हो । भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलताको नीति लिनुभएका तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन र नगरपालिकाको शिक्षा शाखाले समेत मानसिंह स्कुल भित्र भएको भनिएको आर्थिक अनियमीतता बिरुद्ध कडा रुपमा उत्रिएपछि थापाको प्रधानाध्यापक पद खुस्कीएको थियो ।
२०८२ जेष्ठमा अनिवार्य अवकास पाँउदै गरेका थापाले सुरुमा व्यवस्थापनको निर्णयलाई स्वीकार गरेका थिए । तर पछि अचानक आफु अन्यायमा परेकोले अन्तरीम आदेशको माग गदै २०८० कार्तिक ६ गते मानसिंह धर्म मा.वि, विद्यालय व्यवस्थापन समिति, व्यवस्थापन समितिका अध्यक्ष कुमार राई, नि. प्र.अ केदार प्रसाद गजुरेल, तारकेश्वर नगरपालिका र शिक्षा युवा तथा खेलकुंद शाखालाई बिपक्षी बनाएर उच्च अदालतमा रिट दायर गरेका थिए ।
थापाले दायर गरेको रिटको प्रारम्भीक सुनुवाई गदै २०८१ कार्तिक २६ गते उच्च अदालत पाटनका न्यायधीश कबि प्रसाद न्यौपाने र नारायण प्रसाद रेग्मीले अन्तरीम आदेश जारी नहुने आदेश दिनुभएको थियो ।
निमित्त प्रधानाध्यापक थापाले आर्थिक अनियमितता गरेका दर्जनौ बिल सहित तारकेश्वर नगरपालिकाको तर्फबाट नगरपालिकाका कानुनी सल्लाहकार तथा अधिवक्ता रामहरी नेपालको टिमले अदालतमा बहस गरेको थियो । तारकेश्वर नगरपालिकाको शिक्षा ऐन, मौजुदा शिक्षा ऐनले समेतले प्रधानाध्यापकको योग्यता र नैतिकताको बिषयमा स्पष्ट उल्लेख गरेकाले थापालाई पुन उक्त जिम्मेवारी दिन नमिल्ने नगरपालिकाको जिकिर रहेको थियो ।
नगरपालिकाका तर्फबाट थापाले भुक्तानी लिएका दर्जनौ संकास्पद बिलहरु अदालतमा पेश गरिएको थियो । उच्च अदालतका न्यायीशहरुले थापाले भुक्तानी लिएका बिलहरुबाट उनीमाथी लगाएको आरोपहरु पुष्टी हुने धेरै आधार भेटिएको भन्दै रिटनै खारेजी गरिदिएका हुन् ।
तारकेश्वर नगरपालिकाका कानुनी सल्लाहकार तथा अधिवक्ता रामहरी नेपालले उच्च अदालतले नगरपालिकाको तर्फबाट भएको मागदावी बमोजिमनै फैसला आएको बताउनुभयो । उहाँले भन्नुभयो “नगरपालिकाको तर्फबाट पुर्व निमित्त प्र.अ थापाले आर्थिक अनियमितिता गरेको ठहर हुने अवस्था देखिएकाले उनलाई गरिएको निलम्बन कायम रहनुपर्दछ भन्ने तर्क सहित बहस गरेका हौ. अदालतले समेत सोही कुरालाई मान्यता दियो हामी खुसी छौं ।”
उच्च अदालत पाटनको आदेशपछी मानसिंह स्कुलका निमित्त प्रधानाध्यापक केदार प्रसाद गजुरेलले सत्य र न्यायको पक्षमा फैसला आएको बताउनुभयो । उहाँले भन्नुभयो “हार र जितको कुरा केहि छैन्, मलाई व्यवस्थापनले जिम्मेवारी दियो उहाँले त्यसलाई स्वीकार गर्नुभएन अदालत जानुभयो तर अदालतले व्यवस्थापन समितिले गरेको निर्णयलाईनै सदर गरेर फैसला गरेको छ, अब म अझ जिम्मेवार बनेर काम गर्नेछु, विद्यालयको शैक्षिक सुधारका लागि म उहाँका राम्रा कामहरुमा हातेमालो गरेर अगाडी बढन तयार छु ।”


प्रतिक्रिया दिनुहोस्