भोजपुरमा हावाहुरीसँगै सोमवार लागेको आगलागीबाट १७ घर, आठ पाली र १० वटा गोठ जलेर नष्ट

Sagarmatha Post
Sagarmatha Post ५ चैत्र २०८१, मंगलवार
2 Min Read
Aa

भोजपुर । भोजपुरमा हावाहुरीसँगै सोमवार लागेको आगलागीबाट १७ घर, आठ पाली र १० वटा गोठ जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरको विवरण अनुसार आगलागीबाट ती संरचनाहरू नष्ट भएका हुन । नजिकैको पारपानी टङटङ्गेडाँडा स्थित इनामे सामुदायिक वनमा लागेको आगो बस्तीसम्म आई पुग्दा भोजपुर नगरपालिका वडा नम्बर १२ पारपानीका स्थानीय शम्भु चापागाईँको पाली, सोभित श्रेष्ठको घर पाली, गोमा दर्जीको घर, रामबहादुर कार्कीको घर पाली, गोपीकृष्ण धमलाको पाली, रुद्र प्रसाद ढकालको घर पाली, शेखर धमलाको घर, तिर्थ प्रसाद सुवेदीको घर पाली, चन्द्र प्रसाद सुवेदीको घर, राम बहादुर कार्कीको घर पाली र गोविन्द चापागाईँको पाली नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

यस्तै हावाहुरीसँगै आगलागीले भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्बर चार, दलगाउँ केरावारीमा चार घर जलेर नष्ट भएको छ भने दुई वटा गाईगोठ र तीन वटा सुँगुर समेत जलेर मरेको छ । स्थानीय कुमार राईको ढुङ्गा माटाले बनेको घर, गजेन्द्र राईको घर, उमेश राईको घर र मानबहादुर तामाङको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यस्तै चण्डीराज राईको गाईगोठ, कोपिला राईको गोठ पनि नष्ट भएको छ । बाँसघारीमा लागेको आगो सल्कँदै बस्तीसम्म पुग्दा क्षति भएको हो ।

जिल्लाको पूर्वी अरुण गाउँपालिका वडा नम्बर सात, सिक्रेटार स्थित जलसिंह सामुदायिक बनमा लागेको आगोले स्थानीय दत्त नारायण श्रेष्ठको ढुङ्गा माटोले बनेको घर र गाईगोठ र राजकुमार तामाङको घर जलेको छ भने भेषराज कोइरालाको गोठ, मित्र बहादुर राईको गोठ, बिक्रम राईको गोठ पनि जलेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । अरुण गाउँपालिकाको वडा नम्बर चारमा बनमा लागेको डढेलो सल्कँदा स्थानीय सितादेवी भुजेलको ढुङ्गा माटोले बनेको घर र गोठ जलेको छ भने दानबहादुर भुजेलको खाली घर र कमला देवी भुजेलको फुसको छानो भएको गोठ समेत जलेर नष्ट भएको अस्थायी प्रहरी पोष्ट चरम्वीले जनाएको छ ।

आगलागीबाट भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका वडा नम्बर छ, माटोखानीका जयनारायण राईको ढुङ्गा माटोले बनेको एक तले घर, गोठ र तीन वटा बाख्रा समेत जलेर मरेको छ । इलाका प्रहरी कार्यालय घोडेटारका अनुसार आगलागीबाट एक लाख ८८ हजार बरावरको क्षति भएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्