साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । बजार परिसूचक नेप्से ५४.६२ अंकले घटेर २६१६.२६ विन्दुमा पुगेको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार झण्डै २ प्रतिशतले बजार घटे पनि कारोबार रकम भने ६ अर्ब ३२ करोड रुपैयाँ छ । १ करोड २३ लाख कित्ता सेयर बिक्रीपछि ६ अर्ब बढीको कारोबार भएको हो ।
आज बजार खुलेदेखि नै निरन्तर सूचक ओर्लिएको थियो । सो क्रममा आज १३ वटा सेयर मात्र बढे भने २३० वटा घटेका छन् । सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ १.४७, विकास बैंक २.४२, फाइनान्स २.९९, होटल तथा पर्यटन २.२३, हाइड्रोपावर २.३३, लगानी २.०५, जीवन बीमा १.८५, उत्पादन तथा प्रशोधन १.४६, माइक्रोफाइनान्स २.३६, निर्जीवन बीमा २.०७, अन्य १.७४ र व्यापार २.८५ प्रतिशत घटे ।
यस दिन मूल्य धेरै बढ्नेमा डिवेन्चर अगाडि रहे । आईसीएफसीडी ८८ को ३.८९, कुथेली बुखरी स्मल हाइड्रोको २.८, एनआईसीएडी ८२८३ को २ तथा एसबीडीबी ८७ को २ प्रतिशत मूल्य बढ्यो ।गिरावटतर्फ मिथिला लघुवित्तको सेयरमा नकारात्मक सर्किट लाग्दा सयपत्री हाइड्रो र उपकार लघुवित्त क्रमशः ७.३४ प्रतिशत र ६.८७ प्रतिशतले घटेका छन् । लगानीकर्ताले आज पनि हिमालयन रिइन्स्योरेन्सको ४२ करोडको कारोबार गरेका छन् । जुन आजको सर्वाधिक कारोबार हो । त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३५ करोडको र नेपाल पुनर्बीमाको ३४ करोडको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्