तारकेश्वरकै एतिहाँसीक मनमैजु–अजिमा जात्रा भोली देखि सुरु हुदै, बैशाख १ गते मनमैजु मन्दीरमा भव्य कन्सर्ट हुने

Sagarmatha Post
Sagarmatha Post २८ चैत्र २०८१, बिहीबार
8 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । काठमाडौं उपत्यकाको उत्तरी भेगमा पर्ने तारकेश्वर नगरपालिकाको धार्मिक र ऐतिहासिक महत्व बोकेको पुरानो नेवारवस्ती मनमैजुमा रहेको मन्दिरमा एतिहासिक मनमैजु अजिमा (इन्द्रायणी अजिमा) जात्रा भोली देखि सुरु हुंदैछ ।
जात्राको पहिलो दिन चैत्र शुक्ल चतुर्दशीका दिन तारकेश्वर महादेवको जङ्गलमा रहेको सल्लाको रुखलाई विधिपूर्वक पूजा गरी काटेर ल्याइ लिंगोका रुपमा मन्दिर अगाडि ठड्याइ अजिमाको जात्रा सुरु हुन्छ । भोली चैत्र २९ गते देखि बैशाख २ गते सम्म विविध तरिकाले मनमैँजुको पूजाआजागरि जात्रा चल्नेछ । त्यस्तै जात्राको क्रममा मनमैजु अजिमालाई खटमा विराजमान गराई टोल टोलमा लगेर स्थानियहरुको पूजा लिने गरिन्छ । पूजामा अलिबलि सहित पूजागरी सिन्दूर जात्रा गर्दै नगर घुमाईन्छ । जात्राको पाँचौ दिन बैशाख २ गते लिङ्गो ढालेर जात्रा समाप्त गरि देवीलाई विधिवत लसकुस पूजा गरी भित्र्याइन्छ ।
मनमैजु जात्रा धर्मस्थली जात्रा सकिए लगतै लिङ्गो उठाएर विधिवत सुरुवात गरिन्छ । मनमैजुको यो जात्रा बालाजु बाइसधाराको जात्रासंग पनि अन्तरसम्बन्धीत छ । ल्हुती पूणिर्माको मेला (बाइसधारा जात्रा तथा जामाचो मेला ) सँगै मनमैजु जात्रा पनि सुरुहुन्छ । यस दिन बालाजुको बाइसधारामा स्नान गरेर मनमैजु देवीको दर्शन गरेमा आफूले चिताएको कुरा पुग्छ भन्ने जनविश्वास छ । स्थानीय बासिन्दाहरुका अनुसार फुसिंख्यःमनमैजु जात्रामा अजिमा स्वयं धामीको रूपमा प्रकट भई जात्रामा सरिक हुने परम्परा हजारौं वर्ष अघिदेखी चल्दै आइरहेको छ । अजिमा धामी हुनेले जामालगाई अजिमा द्यःको पात्र समाति पुजा थाप्दै रथ अगाडि हिड्छन् । अजिमा द्यः (धामी) हुनेलाई अजिमाको शक्ति आफै जागेर आउने स्थानीयबासीहरु बताउछन् ।
बिगतका बर्ष झै यस पटक पनि मनमैजु अजिमा जात्रा सम्पन्न हुने अघिल्लो दिन तारकेश्वर नगरपालिका वडा नं ९ अजिमा मन्दीरमा नयाँ बर्ष २०८२ को पहिलो दिन बैशाख १ गते भव्य संस्कृतिक कार्यक्रम (कन्सर्ट) हुनेछ ।
मनमैजु युवा समुहको १२ औं बृहत सांस्कृतिक तथा कन्सर्ट कार्यक्रममा ख्याती प्राप्त राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुती रहेको मनमैजु युवा समुहका अध्यक्ष हिरालाल महर्जनले बताउनुभयो । युवा समुहले यस पटक कन्सर्ट फरक रुपमा गर्ने तयारी गरेको छ । यस बर्ष स्थानीय कलाकारहरुलाई बढी भन्दा बढी सहभागीता गराएर तारकेश्वरको कला क्षेत्रलाई परिचित गराउन युवा समुह लागेको अध्यक्ष महर्जनले बताउनुभयो ।
कार्यक्रममा यस पटक तारकेश्वरका बिभिन्न विद्यालयका वालबालिकाहरुको समेत प्रस्तुती रहने छ ।
जात्राको धार्मिक र एतिहाँसीक महत्व के छ ? 
काठमाडौं उपत्यकाको उत्तरी भेगमा पर्ने धार्मिक र ऐतिहासिक महत्व बोकेको पुरानो नेवारवस्ती हो मनमैजु । यस वस्तीमा मनाइने विभिन्न जात्रा पर्वहरुमध्ये एक महत्वपूर्ण जात्रा पर्व हो मनमैजु अजिमाको जात्रा । मनमैजु नामाकरण र जात्राको सम्बन्धमा प्राप्त ऐतिहासिक किंवदन्तीहरुमा धेरै कुराहरु उल्लेख गरिको छ । त्यसमध्ये पनि प्राप्त ऐतिहासिक किंवदन्ती अनुसार लिच्छविकालमा राजा गुण कामदेव एक दिन नागार्जुन डाँडा (बालाजु रानीवन) मा सिकारका क्रममा त्यहीँ बास बसेको र राती मनमैजु देवी (अजिमास ईन्द्रायणी) प्रकट भई चैत्र शुक्ल पूर्णिमाका दिन पुजा अर्चना गरी जात्रा चलाएमा मनोआकाङक्षा पूरा हुने भनी सपना देखेछन्।
त्यसको भोलिपल्ट बिहान अग्लो स्थानबाट चारैतिर हेदा पानीको दह भएको, काँडाहरुको झयाङैझयाङ वीच एउटा मन्दिर र स–साना वस्तीहरु देखेपछि गुणकाम देवले उक्त मन्दिरसम्म पुग्ने बाटो निर्माण गरि त्यहाँको स्थानीयवासीलाई जागृत गराई देवीको नित्य पुजा अर्चना सहित चार दिनसम्म जात्रा गरि पाँचौँ दिनमा देवीको चिनो स्वरुप छोडिएको हिरामोतीले जडिएको भोटो देखाउँदा गुण कामदेव र स्थानीय वासीको मनको आकाङक्षा पुरा भएकोले त्यस समयदेखी नै मनमैंजु देवी नामबाटै यस गाँउको नाम मनमैजु रहनगएको उल्लेख रहेको पाइन्छ ।
मनमैजु जात्रा काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित मनमैजु मन्दिरसँग सम्बन्धित छ । यो जात्रा ऐतिहासिक लिच्छवी राजा गुण कामदेवको पालादेखि इन्द्रायणी देवीका रूपमा मानिएको मैजु माईको सम्झनामा सुरू गरिएको हो ।

मनमैजु देवीको उत्पत्ति र इतिहास
किंवदन्ती अनुसार, परापूर्व कालमा काठमाडौंको जितपुर गाउँमा मन नाम गरेकी एक कुरुप कन्या थिइन् । उनी निरन्तर रूपमा विष्णुमती र केशुमती(साङ्गला) खोलाको दोभानमा बसी इन्द्रको तपस्या गर्दथिन् । सधैं झै एक दिन उनी दोभानमा स्नान गरि इन्द्रदेवको आरधना गर्ने क्रममा इन्द्रदेव प्रसन्न हुनुभई दर्शन दिएछन् र वर माग्न भनेछन् । उनले पनि इन्द्रलाई नै पतिका रूपमा पाउनुपर्ने वर मागिछन् । इन्द्रदेवले उक्त कुरा स्वीकार गरी उनीसँग विवाह गरे तर अनुहारमा कालो पोतो र दागहरू रहेकाले त्यस्ती नराम्री कन्या स्वर्गमा सुहाउँदिनन् भनी तिनलाई त्यहीँ छाडेर इन्द्र स्वर्गतिर फर्किएछन् । उनलाई इन्द्रले नै मनमैजु नामले बस्नू अनि अनुहारमा दाग र पोतो हुने मानिसहरूलाई सुन्दर बनाउनू भन्ने वरदान दिएछन् । यसै आधारमा मनमैजुलाई सुन्दरताकी देवीका रूपमा पूजाआजा गर्ने गरिएको हो भन्ने जनविश्वास छ ।
अर्को किम्बदन्ती अनुसार एक दिन एक शिकारी शिकार गर्ने ताकमा मृगलाई पछ्याउँदै आउँदा, हतास मृग मनोरथ तिर्थमा पुगेर प्राण त्यागेछ । मृगले मर्नु अगाडि मैले व्यर्थमा मृत्युवरण गर्नुपर्यो , अर्को जुनीमा मैले शिकारीसँग बदला लिन पाउँ भनी भगवानसंग याचना गरेछ । अर्को जुनीमा त्यो मृग बाघ र शिकारीचाहिँ बँदेलको रुपमा जन्मे । एकदिन अचानक ती दुबैको भेट त्यही मनोरथ तीर्थमा भएछ । जम्काभेट पछि बदेँल र बाघको घमासान लडाइँ भयो र दुबैले त्यहिं तिर्थमै मृत्युवरण गरेछन् र स्वर्ग पुगेछन्। दुबैले मृत्युवरण गरेर स्वर्गमा आएको देखेर देवेन्द्र आश्चर्य मान्दै के कस्तो पूण्यको प्रभावबाट तिमीहरू स्वर्गमा आयौं भन्दै सोधपुछ गर्दा दुबैले मनोरथ तिर्थको प्रभाव भएको बताएको देखेर इन्द्रलाई पनि मत्र्यमण्डलको त्यो तिर्थ हेर्ने लालायित भएर तीर्थ हेर्न जान्छु भनी इन्द्र मनोरथ तीर्थ आएछन्। संयोगबस इन्द्रले तीर्थबाट स्नान गरी निस्किएकी मनमैँजुलाई देखेछन्। मनमैंजु कुरुप र नराम्री देखिएतापनि शारीरिक बनावट भने राम्रो थियो । सधैं स्वर्गको अप्सराहरुको रासलीलामा रहने इन्द्रलाई सुन्दरताले कुरुप भए पनि मनमैंजुको शारिक बनावटमा मोहित भई उनी संग एकरात बिताएछन्। भोलि पल्ट इन्द्र स्वर्गलोक फर्किन लाग्दा मनमैँजुले नजान बिन्ति गरिन्। म तिमीलाई यो जुनीमा इन्द्रलोक लान सक्दिनँ तर अर्को जुनीमा भने तिमी मेरी इन्द्रायणी बन्नेछ्यौ’ भनी मनमैंजुलाई केही वर तथा उपहार दिएर इन्द्र त्यहाँबाट इन्द्रपुरी प्रस्थान गरेछन्।
मनमैंजु पिठलाई पौराणिक कथामा उल्लेख भए अनुसार सतीदेवीको दाहिने तिघ्रा पतन भई उत्पत्ति भएको शक्ति पिठ हुन् भनेर स्थानीयहरु विश्वास गर्छन् । वंशावलीमा लेखिए अनुसार भने राजा गुणकामदेवको पालामा यस मन्दिरको स्थापना गरिएको हो । यहाँ नेपाल सम्वत् १०३५ भन्दा पुरानो शिलापत्र भेटिएको छ भने राणा प्रधानमन्त्री चन्द्रशमशेर र तत्कालीन राजा महेन्द्रले यस मन्दिरको जीर्णोद्धार गरेका हुन्। पित्तलको छाना र आकर्षक मन्दिर रहेको यस मन्दिरमा रहेका टुँडाल र तोरणमा यौनकलाका आकृति पनि देख्न सकिन्छ । नेपाल संवत् ७८६ मा प्रताप मल्लले यस मन्दिरको स्थापना गराएको देखिन्छ । सो कुरा मन्दिरको बाहिरी मूल ढोकाको उत्तरपट्टि पूर्व फर्काएर राखिएको शिलालेखमा उल्लेख छ । वि.सं. २०३१ सालमा सञ्चार मन्त्रालयबाट प्रकाशित मेचीदेखि महाकाली नामक पुस्तकको दोस्रो भागमा मनमैजु मन्दिरको स्थापना वि.सं. १७४८ मा भएको कुरा उल्लेख छ । मन्दिरमा भएको अर्काे शिलालेखमा राजा गिर्वाणयुद्ध वीरविक्रम शाहदेवले आफ्नी जेठी महारानीको नाममा यस मन्दिरको नित्य पूजालाई भनी वि.सं. १८५८ मा गुठी स्थापना गरिएको देखिन्छ । वि.सं. २०१७ सालमा तत्कालीन राजा महेन्द्रबाट मन्दिरको जीर्णाेद्वारका लागि केही रकम उपलब्ध गराएको पाइन्छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्