नेपाली सेना र सुरक्षा निकायलाई विश्वले ठूलो भरोसा गरेको छ : राष्ट्रपति

Sagarmatha Post
Sagarmatha Post २८ चैत्र २०८१, बिहीबार
3 Min Read
Aa

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकायको प्रतिबद्धता रहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रपति पौडेलले अन्समिल मिसन लिवियामा जाने श्री नयाँ भैरवी दल गुल्म सातौं डफ्फाका सकल दर्जाको प्रि–डिप्लोयमेन्ट तालिम समापन समारोहलाई बिहीबार काभ्रेको पाँचखालमा सम्बोधन गर्नुहुँदै सो धारणा व्यक्त गर्नुभएको हो । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । नेपाली सेनाले लामो समयदेखि संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यमा भाग लिँदै अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपालीको छविलाई उच्च राख्दै आएको पनि उहाँले बताउनुभयो । राष्ट्रपति पौडेलले  नेपाली सेना र सुरक्षा निकायलाई विश्वले ठूलो भरोसा गरेको छ भन्ने कुरा शान्ति सेनामा सबैभन्दा ठूलो हाम्रो उपस्थितिले स्पष्ट पारेको बताउनुभयो ।

नेपाली सेनाको उच्च अनुशासन, वफादारिता, कार्य दक्षता तथा शान्ति कार्यप्रतिको प्रतिबद्धताको कदरस्वरुप संयुक्त राष्ट्र सङ्घले नेपाली सेनालाई विभिन्न मिसनमा सहभागी गराउन थालेको ६७ वर्ष पुरा भएको स्मरण गर्दै उहाँले हालसम्म नेपाली सेनाका करिब १ लाख ५८ हजार बढी शान्ति सैनिकले ४४ वटा संयुक्त राष्ट्रसङ्घका मिसनमा आफ्नो कार्य दक्षता प्रदर्शन गरिसक्नु हाम्रा लागि खुसीको विषय भएको बताउनुभयो । हाल विभिन्न ११ मिसनमा करिब ६ हजार बढी शान्ति सैनिक कार्यरत रही नेपाल शान्ति सैनिक योगदान दिने मुलुकहरू मध्ये पहिलो स्थानमा रहेको तथ्यले गौरवान्वित बनाएको उहाँको भनाइ थियो ।

“नेपाली सेनाको सैनिक मात्र होइन नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान, शान्ति र मानवताको प्रतीक हुनुहुन्छ तपाईँहरू, राष्ट्र संघको मिसन क्षेत्रमा नेपाली सेनाले करिब छ दशकदेखि कायम गर्दै आएको वीरता र शान्ति स्थापनार्थ देखाएको प्रतिबद्धताको इतिहासलाई तपाईँहरूले निरन्तरता दिँदै अगाडि बढाउनु हुनेछ र हाम्रो बहादुरी, सेवा र त्यागको परम्परालाई विश्वमै पहिचान गराउनु हुनेछ भन्ने कुरामा म विश्वस्त छु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।  त्यसैगरी  उहाँहरूका   परिवार, नेपाली सेना, सम्पूर्ण देशवासी तथा संयुक्त राष्ट्र सङ्घले समेत पूर्ण विश्वास राखेको कुरालाई स्मरण गराउँदै राष्ट्रपति विश्व शान्तिको दायित्वलाई गर्वका साथ पुरा गर्न सफलता मिलोस् भन्ने उहाँले शुभकामना व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले हालको बदलिँदो विश्व परिवेश र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय जगतमा वृद्धि  भइरहेको सुरक्षा चुनौतीका सम्बन्धमा त्यस क्षेत्रमा खटिजानेहरू जानकार नै भएको उल्लेख गर्दै  अन्समिल मिसन लिवियामा समेत सुरक्षा स्थिति चुनौतीपूर्ण हुन सक्ने हुँदा जटिल अवस्थामा परिचालन हुनुपर्ने यथार्थलाई मनन गरी मानसिक तथा शारीरिक रूपले तयार नै रहेको कुरामा विश्वास व्यक्त गर्नुभयो ।

“विगतमा नेपाली सेनाले विभिन्न मिसनहरूमा प्रभावकारी रुपमा कार्य गर्दै विश्व शान्तिमा उत्कृष्ट योगदान दिएको वास्तविकतालाई स्मरण गरी नेपाल, नेपाली जनता र नेपाली सेनाको छविलाई सदैव उच्च राख्दै सबैले पेशेवर र अब्बल तरिकाले कार्य सम्पादन गर्नु हुन शुभकामना दिन चाहन्छु”, राष्ट्रपति पौडेलले भन्नुभयो । सो क्रममा राष्ट्रपति पौडेलले मिसनमा सहभागी हुने टोलीले गरेको पूर्व तयारीसम्बन्धी प्रस्तुतीको अवलोकन गर्नुभएको थियो । भने शान्ति मिसनसम्बन्धी विभिन्न तालिमबारे  राष्ट्रपति पौडेललाई  जानकारी गराइएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्