चैत १५ गते काठमाडौँको तीनकुने घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध : गृहमन्त्री

Sagarmatha Post
Sagarmatha Post २९ चैत्र २०८१, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौँको तीनकुने घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध भएर लागेको बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा गृहमन्त्री लेखकले तीनकुने घटनामा संविधान मास्ने र व्यवस्था उल्ट्याउने मनसायले हिंसात्मक प्रदर्शन गरेकै कारण जनधनको क्षति हुन पुगेको बताउनुभयो ।

गृहमन्त्री लेखकले प्रदर्शनकारीले घरमाथि मान्छे थुनेर आगो लगाउने, व्यक्तिका निजी घर, राजनीतिक दलका पार्टी कार्यालय, नीजि र सरकारी सवारीसाधनहरू, उद्योग, व्यापारिक केन्द्रमाथि आक्रमण र आगो लगाउने काम गरेर हिंसात्मक, अमानवीय र उश्रृंखल कार्य गरेको बताउनुभयो । गृहमन्त्री लेखकले तीनकुने घटनाका घाइतेहरूको सम्पूर्ण उपचार सरकारले गर्ने र घटनामा परि मृत्युभएका सविन महर्जन र सुरेश रजकको परिवारलाई दश–दश लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेर रकम निकासाका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी गराउनुभयो ।

गृहमन्त्री लेखकले घटनामा दोषी देखिएका दुर्गा प्रसाईँलाई पक्राउ गरी अनुसन्धान जारी रहेको जानकारी पनि गराउनुभयो ।उहाँले चैत १५ गतेको तीनकुने घटनाको विषयमा सम्पूर्ण जानकारी भएकाले छानविन समिति आवश्यक नरहेको भन्दै नियमित फौजदारी कानुनले काम गर्ने बताउनुभयो । बैठकमा सांसदहरुले तीनकुने घटनामा मानव अधिकारका उल्लङ्घन गरेको, तीनकुने जस्तो संवेदनशील क्षेत्रमा आन्दोलनका लागि अनुमति दिन नहुने, घटनाको निष्पक्ष छानविन हुनुपर्ने, सुरक्षा निकायलाई प्रभावकारी बनाइनु पर्ने, संविधान विरोधी क्रियाकलाप रोक्नुपर्ने लगायतका विषयमा धारणा राख्नुभएको थियो  ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्