एनआरएनए एकता महाधिवेशनको डेलिगेट्स बन्न झन्डै ३,२००  आवेदन प्राप्त

Sagarmatha Post
Sagarmatha Post १० बैशाख २०८२, बुधबार
1 Min Read
Aa
काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनका लागि उच्चस्तरीय समितिले  तोकेको मिति बैशाख ९ गते (२२ अप्रिल २०२५) राति ११:५९ सम्म संघको वेबपोर्टलमार्फत डेलिगेट बन्न ३,१८१ जनाले आवेदन दिएको समितिले जनाएको छ  ।  समयभित्र प्राप्त सबै आवेदनको हाल समीक्षा प्रक्रिया तीव्र गतिमा जारी रहेको समितिद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। “प्रारम्भिक जाँचका क्रममा कुनै आवेदकको कागजात अपूर्ण वा अस्पष्ट भेटिएमा २४ घण्टाभित्र आवश्यक प्रमाण पेश गर्न सम्बन्धित व्यक्तिलाई अनुरोध गरिनेछ। समयमै प्रमाण नपुगाएमा सो आवेदन स्वतः अमान्य हुने स्पष्ट पारिन्छ,” विज्ञप्तिमा भनिएको छ।

समितिले सम्पूर्ण प्रमाणीकरण प्रक्रिया वैशाख १३ गते (२५ अप्रिल २०२५) भित्रमा सम्पन्न गर्ने तयारी गरिरहेको पनि जनाएको  छ। आवेदन दर्ता गरिसकेका र डेलिगेट्स शुल्कस्वरूप १०० अमेरिकी डलर बुझाइसकेका आवेदकहरूलाई उक्त रकम जम्मा गरेको प्रमाण तुरुन्त पठाउन पनि समितिले अनुरोध गरेको छ।   प्रमाणिकरण भै  शुल्क तिरेका डेलिगेटहरूले  मात्र महाधिवेशनमा भाग लिन तथा उम्मेदवारी दिन पाउने समितिले प्रष्ट पारेको छ। एकता महाधिवेशनप्रति देखिएको अभूतपूर्व चासो, सहभागिता र समर्थनप्रति संघले  आभार प्रकट गरेको छ। महाधिवेशनको मिति र कार्यक्रमबारे थप जानकारी आगामी दिनहरूमा सार्वजनिक गरिने पनि समितिले जनाएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्