भक्तपुरले जित्यो फुल कन्ट्याक्ट किक बक्सिङको उपाधि

Sagarmatha Post
Sagarmatha Post २२ बैशाख २०८२, सोमबार
2 Min Read
Aa

भक्तपुर,भक्तपुरमा पहिलो पटक आयोजना गरिएको फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता मा आयोजक टिम भक्तपुर नै समग्र विजेता बन्न सफल भएको छ। नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा वैशाख १९ र २० गते सम्पन्न प्रतियोगितामा भक्तपुरले ३ स्वर्ण र ४ रजत पदक जित्दै उपाधि घरमै राख्न सफल भयो।

प्रतियोगितामा मेन डोजो रङ्गशाला २ स्वर्णसहित दोस्रो स्थानमा रहँदा, फाइट क्लब १ स्वर्ण र २ रजत पदकका साथ तेस्रो भयो। महिला तर्फ उत्कृष्ट खेलाडी को उपाधि अस्मिता दोङ तामाङ ले प्राप्त गरिन भने पुरुष तर्फ सुनिम श्रेष्ठ उत्कृष्ट घोषित भए। प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर ले गर्नु भएको थियो। उहाँले खेल मात्र नभई समाज विकासको एक आधार भएको बताउँदै, खेलाडीहरूको समुचित विकासमा सरकारको ध्यान केन्द्रित रहने प्रतिबद्धता जनाउनु भयो।

प्रतियोगितामा महिला र पुरुष गरी ११ तौल समूहमा प्रतिस्पर्धा भएको थियो भने २ वटा प्रो फाइट समेत समावेश गरिएको थियो। प्रो फाइटमा सिरिस भुजु र प्रविन मोक्तान विजेता घोषित भए।

प्रमुख स्वर्ण पदक विजेता खेलाडीहरू:

  • पुरुष ५१ केजी: सञ्जु सुब्बा
  • पुरुष ५४ केजी: आशिक कोली
  • पुरुष ५७ केजी: बिबद्र राई
  • पुरुष ६३.५ केजी: अर्जुन के.सी
  • पुरुष ६७ केजी: सुनिम श्रेष्ठ
  • पुरुष ७५ केजी: अनिप देउला
  • खुला समूह: उपेश देउला
  • महिला ५२ केजी: अस्मिता दोङ
  • महिला ५७ केजी: बबिता कार्की
  • महिला ६० केजी: चन्द्र कुमारी भुजेल

भक्तपुरको जगातीको इट्टा टाइल कारखानाको हलमा सम्पन्न प्रतियोगिता बिना विवाद र चोटपटक सम्पन्न भएको आयोजकले जनाएको छ। वर्षाका कारण खुला स्थानमा आयोजना गर्न नसकिए पनि दर्शकको ठूलो उपस्थिति देखिएको थियो।

कार्यक्रमको सभापतित्व नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष कृष्णराम जाकिबञ्जार ले गर्नुभएको थियो। खेलको प्रमुख निर्णायकको भूमिका राजु सिंह बजिखोंले निर्वाह गर्नुभएको थियो।

२० जिल्लाबाट खेलाडीहरूको सहभागिता रहेको दुईदिने प्रतियोगितामा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले उत्कृष्ट खेलाडी र विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गर्नु भयो।

उहाँले आगामी संस्करण ऐतिहासिक स्थल पाँचतले वा दत्तात्रय परिसरमा आयोजना गर्न सकिने सुझाव दिनु भएको थियो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्