बिमा कार्यक्रम रोक्ने अस्पतालको दर्ता नवीकरण नहुने : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल

Sagarmatha Post
Sagarmatha Post २२ बैशाख २०८२, सोमबार
2 Min Read
Aa

चितवन,  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अधिकार नभएको बताउनुभएको छ । सोमबार यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले बिमा कार्यक्रम रोक्ने अस्पतालको दर्ता नवीकरण नहुने बताउनुभयो ।

सरकारी अस्पतालले बिमाको दाबी भुक्तानी नभएको उल्लेख गर्दै कार्यक्रम रोकिन सक्ने बताइरहेका छन् । सोही प्रसंगमा मन्त्री पौडेलले भन्नुभयो, “बिमा कार्यक्रम रोक्ने अधिकार सरकारी अस्पताललाई छैन । कसैले  बिमा कार्यक्रम रोकेको भए दर्ता नवीकरण हुँदैन ।” उहाँले कार्यक्रम वापतको दाबी भुक्तानी बिमा बोर्डले छिट्टै फरफारक गर्ने जानकारी समेत दिनुभयो । उहाँले थप्नुभयो, “हिजो मात्र चार अर्ब भुक्तानी भइसकेको छ, बाँकी रकम चालु आर्थिक वर्षभित्र पठाउने तयारीमा लागेका छौँ ।”

सरकारले बिमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले विभिन्न सङ्घसंस्थामार्फत सरकारले दिएका स्वास्थ्य बिमाका सुविधालाई एकीकृत प्रणालीमा ल्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेना एवम् नेपाल प्रहरीको परिवार कल्याणकारी कोषले गर्दै सञ्चालन गर्दै आएको बिमा कार्यक्रमलाई एकीकृत प्रणालीमा ल्याउन आवश्यक भएको बताउनुभयो ।

बजेटका कारणले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा समस्या भएको भन्दै उहाँले यसलाई व्यवस्थित गरेर लैजान सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष सरकारले बजेट भाषण गर्दा बिमा कार्यक्रमका लागि सात अर्ब ५० करोड रुपियाँ छुट्याउनुभयो । यसलाई एक खर्ब आवश्यक पर्छ । यसको स्रोत व्यवस्थापन गर्नुपर्छ ।” रासस

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्