काठमाण्डौं। भारत र पाकिस्तानबीच पछिल्लो समय चुलिएको तनावका बीच दुवै मुलुकले आज (शनिबार) साँझ ५ बजेदेखि लागू हुनेगरी सैनिक गतिविधि रोक्ने सहमति गरेका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सहमति भएको घोषणा गरेका हुन् । ट्रम्पले शनिबार सामाजिक संजाल एक्समा पोस्ट गर्दै भनेका छन्, ‘संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभर चलेको वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन्। विवेक र सूझबूझ प्रयोग गरेकोमा दुवै देशलाई बधाई छ ।’
भारतको पहलगाममा अप्रिल २२ मा भएको आतंकी आक्रमणपछि दुई देशबीचको सम्बन्ध एकाएक तिक्त बनेको थियो । त्यसको जवाफस्वरूप भारतले पाकिस्तानभित्रका आतंकी शिविरहरूमाथि हवाई आक्रमण गर्यो, जसपछि पाकिस्तानले पनि भारतका सैन्य र नागरिक संरचनामाथि ड्रोन र मिसाइलमार्फत आक्रमण सुरु गर्यो । युद्धको अवस्था निम्त्याउनेगरी बढिरहेको यो तनाव अन्ततः अमेरिकी पहलमा थामिएको देखिएको छ । शनिबार साँझदेखि लागु हुनेगरी हुने उक्त युद्धविरामको कार्यान्वयन कत्तिको प्रभावकारी हुन्छ भन्नेप्रति क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायको चासो रहनेछ ।


प्रतिक्रिया दिनुहोस्