काठमाडौँ। परराष्ट्रमन्त्री आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन र दिगोपन सम्बन्धी विशेष दूतसँग विपीन जोशीको अवस्था र नेपाल फिर्तीका लागि थप पहल गर्न अनुरोध गरेका छन् । सगरमाथा संवादमा सहभागी हुन काठमाडौं आएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफासँग शुक्रबार भएको भेटमा मन्त्री राणाले यो अनुरोध गरेका हुन् । भेटमा हमासको अपहरणमा परेका नेपाली युवक विपीन जोशीको अवस्थाबारे कुराकानी भएको थियो ।
मन्त्री राणाले विपीन जोशीको रिहाइ र नेपाल फिर्तीका लागि कतारले गरेको प्रयासप्रति धन्यवाद दिँदै यो विषयमा निरन्तर पहल गर्न र जोशीको रिहाइका लागि थप प्रयास गर्न अनुरोध गरे । यसअघि पनि मन्त्री राणाले कतारका विदेशमन्त्री र इजरायल-हमास शान्ति वार्ताका मध्यस्थकर्तासँग विपीनको रिहाइका लागि बारम्बार अनुरोध गरेका छन् ।
सन् २०२३ देखि हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइ र नेपाल फिर्तीका लागि सहयोग गर्न मन्त्री राणाले विश्व समुदायसँग अनुरोध गर्दै आएका छन् । शुक्रबारको भेटमा मन्त्री राणाले सगरमाथा संवादमा कतारको सहभागिताप्रति धन्यवाद दिँदै आगामी दिनमा जलवायु परिवर्तनको असर कम गर्न सहकार्यका विषयमा पनि कुराकानी गरे ।


प्रतिक्रिया दिनुहोस्