देशकै सबैभन्दा ठूलो सरकारी बगैँचाको आँप ५३ लाखमा ठेक्का

Sagarmatha Post
Sagarmatha Post १२ जेष्ठ २०८२, सोमबार
2 Min Read
Aa

काठमाडौँ,  सर्लाहीको लालबन्दीमा रहेको उष्ण प्रदेशिय बागवानी केन्द्रले यस वर्ष ५३ लाख भन्दा धेरै मूल्यमा आँप बिक्री ठेक्का लगाएको छ। केन्द्रले लालबन्दी नगरपालिका–२, बागवानीमा उत्पादन भएको आँप बिक्रीको लागि ५३ लाख ७१ हजार रुपैयाँमा ठेक्का लगाएको हो। यो बागबानी केन्द्र देशकै सबैभन्दा ठूलो सरकारी बगैँचा हो।

दोस्रो पटक आँप बिक्रीका लागि निकालेको सूचनाअनुसार सुरज निर्माण सेवा लालबन्दी–१, पुनर्वासले उक्त मूल्यमा ठेक्का सकारेको केन्द्रका निमित्त वरिष्ठ बागवानी विकास अधिकृत रामकुमार यादवले जानकारी दिए। निमित्त प्रमुख यादवका अनुसार यस वर्ष आँप गत वर्षको तुलनामा दुई गुणा बढी मूल्यमा ठेक्का लागेको हो। गत वर्ष रु २१ लाख १५ हजारमा मात्र ठेक्का लागेको थियो। ‘‘गत वर्ष अफ सिजन थियो। त्यसैले आँप निकै कम फल्यो। ठेक्का कम रकममा लागेको हो’’, निमित्त प्रमुख यादवले भने।

यसवर्ष सिजन भएकाले आँप धेरै फलेको उनको भनाइ छ। उत्पादन बढेकाले बागवानीले रु ७१ लाख ११ हजार १२१ बिक्री मूल्य राखेर गत वैशाख १६ गते प्रथम पटक बिक्री सूचना निकालेको थियो। तर, १५ दिनको म्याद अवधिमा आँप ठेक्काको निवेदन नपरेको उनले बताए। त्यसपछि केन्द्रले फेरि गत जेठ १ गते रु ५१ लाख ७५ हजार मूल्य राखेर दोस्रो पटक सात दिनको लागि सूचना निकालेको थियो।

तर, ठेक्का लगाउने समयमा हावाहुरीले आँपमा क्षति गरेकाले ठेक्का मूल्य घटाउनुपरेको केन्द्रका निमित्त प्रमुख यादवको भनाइ छ। केन्द्रले अहिलेसम्मकै धेरै आर्थिक वर्ष २०७९÷८० मा रु एक करोड ११ लाखमा आँप बिक्री गरेको थियो। यहाँ करिब एक सय बिघा क्षेत्रफलमा आँपका छ हजार वटा रूख छन्। त्यसमध्ये वर्सेनि तीन हजार पाँच सय बढी रुखमा मात्र फल लाग्ने गरेको छ। बागवानी केन्द्रमा मालदह, दशहरी, बम्बै, आम्रपाली, मल्लिका, निलमसहित ३५ बढी जातको आँप उत्पादन हुने गरेको निमित्त केन्द्र प्रमुख यादवले बताए।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्