रामबहादुर बमजनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश

Sagarmatha Post
Sagarmatha Post १३ जेष्ठ २०८२, मंगलवार
2 Min Read
Aa

काठमाडौँ । सम्पत्ति शुद्धीकरणको मुद्दामा तपश्वी दाबी गर्ने विवादित रामबहादुर बमजन पुर्पक्षको लागि थुनामा पठाउन आदेश भएको छ। सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बमजनलाई सोमबार पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो।सम्पत्ति शुद्धीकरणको मुद्दा बाँकी रहेकाले बमजन आफै अदालतमा हाजिर भएका थिए। उक्त मुद्दामा थुनछेक बहस भएसँगै अदालतले थुनामा पठाउन आदेश दिएको हो। सम्पत्ति शुद्धीकरणमा ८ करोड ५९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको थियो।

चितवनमा रहेको बमजनको ६४ लाख बराबरको जग्गा र बरामद भएको रकम समेतलाई कायम गरी मुद्दा दायर भएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बमजनलाई लामो समयको अनुसन्धानपछि २०८० पुस २४ गते पक्राउ गरेको थियो।उनलाई काठमाडौंबाट पक्राउ गर्दा विभिन्न १७ वटा देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरका मुद्रा र ३ करोड ३४ लाख नेपाली नगद बरामद गरेको थियो। उनलाई पक्राउ गरी कारबाहीका लागि सर्लाही पठाएको थियो। अनुसन्धान र अभियोजन गरी अदालतमा पेस गरेको थियो।

अदालतले गत असार १७ गते जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बलात्कार कसुरमा उनलाई १० वर्ष कैद सजाय सुनाएको थियो। पीडितलाई बालिकालाई ५ लाख क्षतिपूर्ति दिन पनि भनिएको थियो। उनीविरूद्ध रौतहटकी गंगामाया तामाङले जाहेरी दिएकी थिइन्। आफू १४ वर्षकी हुँदा बमजनले आफूमाथि बलात्कार गरेको भन्दै जाहेरी दिएकी हुन्।

उक्त फैसलालाई उच्च अदालत जनकपुरले उल्ट्याउँदै बमजनलाई सफाइ दिएको थियो। गत चैत ६ गते न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले उनलाई सफाइ दिने फैसला गरेको थियो। फैसलापछि कारागारबाट छुटेका बमजन सम्पत्ति शुद्धीकरणको मुद्दामा पुन: पुर्पक्षका लागि कारागार चलान भएका हुन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्