काठमाडौं, अनलाइन बेटिङ (सट्टेबाजी)मा संलग्न आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति ललितपुरको नख्खुस्थित सनराइज अपार्टमेन्ट र धापाखेलको एक घरमा छापा मारेर ५ भारतीय र १२ नेपाली गरी १७ जनालाई पक्राउ गरेको हो । उनीहरूले विगत पाँच महिनादेखि घर र फ्ल्याट भाडामा लिएर सट्टेबाजी खेलाउने गरेको देखिएको कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।
सट्टेबाजी सञ्चालक भारतीय नागरिक रहेको खुलेको छ । पक्राउ परेका नेपाली विभिन्न मितिमा भिजिट भिसामा दुबई पुगेका र त्यहाँ कामको खोजीमा अलपत्र परेपछि अनलाइन बेटिङ गराउने गिरोहमा संलग्न भएका प्रहरीले जनाएको छ । गिरोहको सम्पर्कमा पुगेपछि भने उनीहरूले भिजिट भिसालाई वर्किङमा कन्भर्ट गरिदिएको पक्राउ परेकाहरूले बताएका छन् । भारतीय गिरोहले भिजिट भिसामा दुबई पुगेकाहरूलाई आफ्नो सम्पर्कमा ल्याएपछि अनलाइन बेटिङको तालिम दिएर काममा लगाउने गरेको पाइएको छ ।
आईटी कम्पनीको भन्दै उनीहरूलाई काममा लगाइएको थियो । उनीहरूलाई मासिक ८० हजार रुपैयाँसम्म तलब दिने गरेको पाइएको छ । दुबईमा काम गरेपछि युवाहरूलाई सरुवा गर्दै नेपाल ल्याइएको थियो । नेपाल ल्याउने क्रममा सबै सेटिङ मिलाइसकेको भन्दै काठमाडौं ल्याइएको उनीहरूले बताएका छन् ।उनीहरूले बेटिङमार्फत सबै रकम भारतीय बैंक खातामा ट्रान्सफर गर्ने गरेको खुलेको छ । उनीहरूले ८० करोड रुपैयाँबराबरको कारोबार गरेको प्रहरी अनुसन्धानका क्रममा देखिएको छ । सट्टेबाजीका निम्ति उनीहरूले सेभेन बेट, ३६५ बेट साइट प्रयोग गर्ने गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्