आइपिएल च्याम्पियन भएको रोयल च्यालेन्जर्स बैङ्गलुरुको उत्सव मनाउने क्रममा भागदौडमा परेर ११ जनाको मृत्यु, ३३ जना घाइते

Sagarmatha Post
Sagarmatha Post २२ जेष्ठ २०८२, बिहीबार
2 Min Read
Aa

इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलोपल्ट च्याम्पियन भएको रोयल च्यालेन्जर्स बैङ्गलुरुको उत्सव मनाउने क्रममा बैङ्गलुरुमा भएको भागदौडमा परेर ११ जनाको ज्यान भएको छ । अहमदाबादमा मंगलबार सम्पन्न १८औं सिजनको फाइनलमा पन्जाब किङ्सलाई ६ रनले हराउँदै बैङ्गलुरु च्याम्पियन भएको थियो । सोही विजयोत्सव आफ्नो राज्यमा मनाउने क्रममा बुधबार ११ जनाको ज्यान गएको कर्नाटकाका मुख्यमन्त्री सिद्धारमैयाले बताएका छन् ।

लाखौं समर्थकले बैङ्गलुरुको टोलीलाई राज्यमा स्वागत गरेका थिए । तर, अत्यधिक मानिसको भीडमा एक्कासि भागदौड मचिएपछि ठूलो मानवीय क्षति हुन पुगेको हो । कर्नाटकाका मुख्यमन्त्री सिद्धारमैयाले यो भागदौडमा परेर ११ जनाको मृत्यु भएको र ३३ जना घाइते भएको बताएका छन् । ‘कसैले पनि यतिका धेरै समर्थक आउने सोचेका थिएनन्,’ मुख्यमन्त्रीले भने, ‘बैङ्गलुरुको सम्मानमा ३५ हजार क्षमताको स्टेडियममा कार्यक्रम राखिएको थियो । तर, कहाँबाट दुईदेखि तीन लाख समर्थक आइपुगे ।’ उनले धेरै समर्थक आएकाले पुलिसले पनि समाल्न नसकेको उल्लेख गरे।

आयोजकले बैङ्गलुरुलाई सम्मान गर्ने कार्यक्रम अगाडि नै सामाजिक सन्जालमा टोलीलाई स्वागत गरेको भिडियो राखेको थियो, जहाँ स्टार क्रिकेटर विराट कोहलीले पनि हात हल्लाउँदै सम्बोधन गरेका थिए । आइपिएलका चेयरमेन अरूण धुमलले स्टेडियममा भएको घटनाबारे आयोजकले जानकारी नगराएको उल्लेख गरे । ९१ हजार समर्थकको माझ बैङ्गलुरुले अहमदाबादमा पहिलोपल्ट उपाधि जितेको हो । चौथो पटक फाइनल पुगेको बैङ्गलुरुले यसपल्ट भने अवसर खेर फालेन । विराट कोहलीले पनि आइपिएलको सुरुआतदेखि नै बैङ्गलुरुबाट खेल्दै आएका थिए । अन्ततः उनी १८ वर्षको पर्खाइपछि उपाधि जित्न सफल भए ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्