तारकेश्वरमा नमुना कामः जन्मनासाथ पाँच हजार, मृत्युपछि दश हजार

Sagarmatha Post
Sagarmatha Post २७ जेष्ठ २०८२, मंगलवार
2 Min Read
Aa

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाले नगरभित्र शिशु जन्मनासाथ रु पाँच हजार र कोही व्यक्तिको मृत्युपछि रु १० हजार उपलब्ध गराउने भएको छ ।

नगरपालिकाले सोमबार तारकेश्वर स्थित मोलालिशा होटलमा आयोजना गरेको ‘नगरप्रमुखसँग सञ्चारकर्मी अन्तक्र्रिया तथ पत्रकार अभिमुखीकरण कार्यक्रम’मा नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनलले नगरबासीको सुविधाका लागि उक्त रकम उपलब्ध गराउन लागेको जानकारी दिनुभयो ।

उहाँले ‘कोख देखि शोक सम्म’ कार्यक्रमअन्तर्गत नगरपालिकाले भर्खरै जन्मेको बच्चालाई रु पाँच हजार उपलब्ध गराउने र उक्त रकम १६ वर्ष पुगेपछि साँवा ब्याजसहित प्राप्त हुने व्यवस्था मिलाइएको बताउनुभयो । त्यसैगरी मृत्युपछि काजक्रिया र अन्तिम संस्कारका लागि रु १० हजार उपलब्ध गराउने जनाएको छ ।

नगरप्रमुख महर्जनले ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई भने मासिक रु दुई हजार दिने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले आफूसहित सिङ्गो कार्यपालिका निर्वाचित भएको तीन वर्षमा तारकेश्वरभित्रका सबै घरमा धारा पु-याउने काम गरिरहेको बताउनुभयो ।

नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि प्रत्येक वर्ष मेयर रनिङ शिल्ड प्रतियोगिताको थालनी, आँखाका बिरामीका लागि तिलगङ्गा आँखा केन्द्र स्थापना, डायलासिस सेवाको शुभारम्भ, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, नगरभित्रका सडक कालोपत्रेलगायत गर्दै आएको छ ।

नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटीले नगरभित्र रोजगारी सिर्जना गर्न नगरपालिकाले विभिन्न किसिमका तालिम प्रदान गर्दै आएको जानकारी दिनुभयो । उहाँले आफूहरु निर्वाचित भइसकेपछि नगरपालिकाको विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गरिरहेको बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष तथा प्रवक्ता राधाकृष्ण खड्गी, वडा नं ३ का वडा अध्यक्ष परशुराम अर्याल, प्रमुख प्रशासकीय अधिकृत इश्वर प्रसाद आचार्यले नगरका विविध योजना र गतिविधीका बारेमा प्रकाश पर्नुभएको थियो । कार्यक्रममा सञ्चारकर्मीहरुलाई विविध विषयमा प्रशिक्षण दिइएको थियो । अभिमुखीकरण कार्यक्रमको प्रमुख प्रशिक्षकको रुपमा रत्न राज्यलक्ष्मी क्याम्पसका सहायक प्राध्यापक तथा पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य शन्तराम बिडारी रहनुभएको थियो । यसैगरी गोरखापत्र दैनिकका उपसम्पादक दीपक श्रेष्ठ र प्रेस युनीयनका महासचिव तथा नागरिक दैनिकका आर्थिक व्युरो प्रमुख दिलिप पौडेलले अभिमुखीकरण गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भुपराज बस्याल, कार्यक्रम संयोजक ऋषि बस्यालले बोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण सिता पौडेल अर्चनाले गर्नुभएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्