काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २६ द्वारा आयोजित बृहत खेलकुद प्रतियोगिता २०८२ अन्तर्गत तारकेश्वर नगरपालिकाका खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्। सीमित स्रोत र सामान्य सुविधा हुँदाहुँदै पनि तारकेश्वर टिमले विभिन्न खेलतर्फ उत्कृष्ट प्रदर्शन गर्दै नगरको शान बढाउन सफल भएको हो। तेक्वान्दोमा तारकेश्वर टिमले तृतीय स्थान प्राप्त गर्न सफल भयो भने फुटसलतर्फ भने च्याम्पियनको उपाधि हात पार्यो। यस्तै, अन्य खेल प्रतिस्पर्धाहरूमा समेत नगरका खेलाडीहरूले पदक जित्नुका साथै नगद पुरस्कारसमेत प्राप्त गरेका छन्। यस गौरवपूर्ण उपलब्धिपछि तारकेश्वर नगरपालिकाले खेलकुद क्षेत्रमा योगदान पुर्याउने सम्पूर्ण खेल संयोजक, नगर शिक्षा तथा खेलकुद शाखाका सदस्यहरू, पदाधिकारीज्यूहरू, तथा पत्रकारज्यूहरूप्रति आभार व्यक्त गर्दै सम्मान कार्यक्रम आयोजना गरेको छ। आज साँझ ५:०० बजे टुसाल मल्टिभेनुमा विशेष समारोहको आयोजना गरिँदैछ, जसमा नगर प्रमुख कृष्ण हरि महर्जन र नगर उप–प्रमुख श्रृजना बुर्लाकोटीको प्रमुख आतिथ्य रहनेछ। सो कार्यक्रममा विजेता खेलाडीहरूलाई बधाई तथा शुभकामना दिइनेछ, साथै डिनरको आयोजना गरिनेछ जसले विजयीको उत्सवलाई थप उल्लासमय बनाउने अपेक्षा गरिएको छ। कार्यक्रमका क्रममा १४ औं राष्ट्रपति रनिङ शिल प्रतियोगितामा विजयी भएका खेलाडीहरूको विशेष सम्मान र आगामी रणनीतिबारे छलफल पनि गरिने आयोजकले जानकारी दिएका छन्। नगर प्रवक्ता राधा कृष्ण खड्गीको स्वागत मन्तव्य र कार्यक्रम संयोजक विक्रम खड्गीको व्यवस्थापनमा सञ्चालन हुने सो कार्यक्रममा सम्पूर्ण सम्माननीय अतिथि, खेलकर्मी, सञ्चारकर्मी तथा सरोकारवाला व्यक्तित्वहरूको गरिमामय उपस्थितिको अपेक्षा गरिएको छ।

तारकेश्वर नगरपालिका खेलकुदको क्षेत्रमा भविष्यमा अझ सशक्त कदम चाल्ने प्रतिबद्धता जाहेर गर्दै यस किसिमका सफलताले युवा खेलाडीहरूमा थप हौसला र प्रेरणा थप्ने विश्वास व्यक्त गरिएको छ।


प्रतिक्रिया दिनुहोस्