तारकेश्वर नगरपालिकाको १७ औँ नगरसभा भव्य रूपमा सम्पन्न

Sagarmatha Post
Sagarmatha Post १० असार २०८२, मंगलवार
3 Min Read
Aa

काठमाडौं। तारकेश्वर नगरपालिकाको मिति २०८२ आषाढ १० गतेको १७औं नगरसभा भव्य रूपमा सम्पन्न भएको छ।

नगर प्रमुख तथा सभाअध्यक्ष  श्री कृष्ण हरि महर्जनबाट प्रस्तुत आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम र उप प्रमुुख सृजना बुर्लाकोटी अर्यालले प्रस्तुत गरेको आ.व. २०८२/०८३ को वार्षिक बजेट तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको हो।

नगर सभाबाट आगामी आ.व. २०८२/०८३ को वार्षिक बजेट तथा कार्यक्रमका लागि रु. २,८०,७३,७०,००० (दुई अर्ब असी करोड त्रिहत्तर लाख सत्तरी हजार) को बजेट पेश भएको थियो । जुन पारदर्शिता, समावेशिता र दिगो विकासमा केन्द्रित रहेको थियो।

सभामा प्रमुख महर्जनले “पहिचान, अपनत्व र अधिकार : दिगो विकासको आधार” भन्ने मूल नारालाई आत्मसात गर्दै नगरपालिका सञ्चालनको तेस्रो वर्षमा उल्लेखनीय प्रगति हासिल भएको बताउनु भयो। महर्जनका अनुसार नगरपालिकाले लिएका नीतिगत तथा सुधारात्मक कदमका सकारात्मक परिणाम देखिन थालेका छन्। “आर्थिक र सामाजिक रुपान्तरणमा तीव्रता आएको छ भने विकास निर्माणमा पनि गति लिएको छ,” महर्जनले  उल्लेख गर्नु भयो।

नगर उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले आर्थिक वर्ष २०८२/०८३ का लागि संघ, प्रदेश तथा पालिकाको आन्तरिक स्रोत समेत गरी कुल २ अर्ब ८० करोड ८३ लाख ७० हजार रुपैयाँ बराबरको संचित कोषको अनुमान गरिएको जानकारी दिनु भयो। प्रस्तुत नीति तथा कार्यक्रममा स्वास्थ्य, कृषि, खानेपानी, शिक्षा र पूर्वाधार विकासमा विशेष जोड दिइएको छ।अब हामी कार्यान्वयनको चरणमा प्रवेश गरिसकेका छौं। “हाम्रो नगर, हामी सबैको साझेदारी” भन्ने भावना सहित आगामी दिनहरूमा पनि यहाँहरूको निरन्तर साथ, सुझाव र सहयोगको अपेक्षा गर्दछु उप प्रमुख बुर्लाकोटीले भन्नु भयो।

नगरसभा सदस्यहरूले ऐतिहासिक सम्पदा संरक्षण, गुणस्तरीय शिक्षा, प्रभावकारी स्वास्थ्य सेवा, लक्षित वर्गका कार्यक्रम तथा पर्यटकीय क्षेत्रको समुचित विकासमा अझ बढी ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

सभाको बन्द सत्रमा पेश भएका आर्थिक बिधेयक, बिनियोजन बिधेयक, आ.व. २०८१/०८२ को लेखा समिती प्रतिवेदन, आ.व. २०८१/०८२ को न्यायिक समिती प्रतिवेदन सर्वसम्मतले पास भएको छ ।

नगर विकासको आधारशिला बन्ने विभिन्न नीति तथा कार्यक्रमहरू यस सभाबाट पारित भएका छन्, जसले समुन्नत र व्यवस्थित तारकेश्वरको निर्माणमा नयाँ ढोका खोल्ने विश्वास लिएको छ :

– एक घर–एक धारा खानेपानी नीति।

– शिक्षा, राजस्व, युवा तथा खेलकुद, न्यायिक र पूर्वाधार नीति।

– विपद् व्यवस्थापन, वातावरण तथा फोहरमैला व्यवस्थापन नीति ।

– धर्म, संस्कृति तथा पर्यटन नीति।

– आर्थिक विकास, सूचना प्रविधि नीति

– संस्थागत सेवा प्रवाह तथा सुशासन नीति।

यस महत्वपूर्ण घडीमा साथ र सहयोग गर्नुहुने कार्यपालिका सदस्यहरु ,नगरसभा सदस्यहरु, विषयगत समितिहरू, सबै राजनीतिक दलहरू, समर्पित कर्मचारीहरु, निजी तथा सरकारी निकाय, सञ्चारकर्मीहरू र नगर विकासमा सदैव सक्रिय रहनुहुने नगरवासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरू प्रति नगर पालिकाको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरेका थिए।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्