प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण

Sagarmatha Post
Sagarmatha Post २५ असार २०८२, बुधबार
2 Min Read
Aa

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी र सम्बद्ध प्रशिक्षक तथा व्यवस्थापकलाई आज सम्मान र पुरस्कार प्रदान गर्नुभएको छ ।प्रधानमन्त्री निवास, बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा गत कात्तिक ७ देखि १२ गतेसम्म जापान उसु ताइजी महासङ्घको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वर्ल्ड कपमा कास्य पदक विजेता विजय सिँजालीलाई प्रधानमन्त्री ओलीले नगद रु ६५ लाख पुरस्कारसहित प्रमाणपत्र प्रदान गर्नुभयो । यस्तै, गत फागुन २० देखि २५ गतेसम्म इरानमा भएको छैटौँ एसियन कबड्डी च्याम्पियन (महिला) तर्फ कास्य पदक विजेता मानमती विष्टसहितलाई रु एक लाख ५० हजारका दरले पुरस्कार प्रदान गर्नुभयो ।  सोही अवसरमा असोज २० देखि २६ गतेसम्म श्रीलङ्का भलिबल सङ्घको आयोजनामा श्रीलङ्कामा भएको ‘काभा यु–२०’ पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता अर्जुन नेपालीसहितलाई रु तीन लाखका दरले पुरस्कार दिइएको छ । उहाँहरूलाई राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्यवस्थाबमोजिम यही असार ९ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको हो ।

साथै, यही असार ८ देखि २१ गतेसम्म मलेसियामा भएको ‘एसिसी यु–१६ इस्ट जोन कप’ क्रिकेट प्रतियोगितामा सिङ्गापुरलाई हराएर उपाधि जित्न सफल विपिनप्रसाद शर्मासहितको टोलीलाई प्रधानमन्त्री ओलीले बधाई तथा स्वागत गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासका लागि उच्च प्राथमिकता दिएको बताउनुहुँदै लगनशील भई व्यावसायिक हिसाबले समर्पणभावका खेल जगतमा रमाउन सके सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले आगामी आर्थिक वर्षका लागि यस वर्षकोभन्दा करिब दोब्बर बजेट विनियोजन गरेको र कीर्तिपुरमा निर्माण भइरहेको क्रिकेट खेल मैदानको काम करिब अन्तिम चरणमा पुगेसँगै मुलुकको खेलकुद क्षेत्र उत्साहित भएको बताउनुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्