काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरणका लागि सरकार सबै किसिमले तयारी अवस्थामा रहेको बताउनुभएको छ ।राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा आज गृहमन्त्री लेखकले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सबैभन्दा महत्वपूर्ण विषय भएकाले मौसम पूर्वानुमान सम्बन्धी सूचनाको जानकारी गराउने र सूचना प्रणालीलाई थप व्यवस्थित बनाउने कार्यमा सरकार लागिरहेको जानकारी दिनुभयो ।
मन्त्री लेखकले जोखिम उत्पन्न भयो भने त्यसको प्रतिकार्य खोज, उद्धार, राहत, पुर्ननिर्माण र पुनः स्थापनाका लागि सरकार देशैभर तयारी अवस्थामा रहेको पनि जानकारी गराउनुभयो ।यही असार २४ गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी बेपत्ता भएकाहरूको खोजीकार्य भइरहेको मन्त्री लेखकले जानकारी दिनुभयो ।मन्त्री लेखकले बाढीमा परेर मृत्यु भएकाहरूका परिवारलाई र कानुनी व्यवस्थाअनुसार १० दिनसम्म पनि फेला नपरेका व्यक्तिहरूलाई मृतकसरह मानी प्रतिपरिवार दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको पनि जानकारी गराउनुभयो ।
बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर दिनेशप्रसाद भट्टले रसुवाको भोटेकोसी नदीमा गएको बाढीबाट पुगेको क्षति र भइरहेको कामका विषयमा जानकारी गाउनुभएको थियो ।प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर भट्टले बाढीमा परेकामध्ये हालसम्म ११ जनाको शव फेला परेको र १७ जना बेपत्ता रहेको जानकारी गराउनुभयो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर भट्टले घटनाको खोज, उद्धारका लागि १ हजार ९ सय ५० जना सुरक्षाकर्मी परिचालित गरिएको जानकारी दिँदै ७ सय ४९ जनालाई स्थलगत उद्धार र २ सय जनाको हवाई उद्धार भएको पनि बताउनुभयो ।बैठकमा सांसदहरुले सरकारले विपद् जोखिम कम गर्न सकिने खालका सबै तयारी गर्नुपर्ने, पूर्व सूचना प्रणालीलाई सबै ठाउँमा पुर्याउनुपर्ने र थप व्यवस्थित बनाउनुपर्ने, विपद् न्यूनीकरणका लागि प्रशिक्षण दिनुपर्ने धारणा राख्नुभयो । सांसदहरुले विपद् कोषको जिम्मेवारी स्थानीय तहलाई दिने गरी कार्यविधि बनाउनुपर्ने, हिमतालहरूको अध्ययनका लागि भूगर्भ विभागसँग सहकार्य गर्नुपर्ने र विपद् भनेको राहत र उद्धार मात्र हो भन्ने बुझाइमा सुधार गर्नुपर्नेलगायतका धारणा राख्नुभयो ।


प्रतिक्रिया दिनुहोस्