स्टाफ नर्स कार्यक्रममा अबदेखि प्रवेश परीक्षा नहुने, जीपीएका आधारमा विद्यार्थी छनोट गरिने

Sagarmatha Post
Sagarmatha Post ८ श्रावण २०८२, बुधबार
1 Min Read
Aa
राष्ट्रियसभा बैठक काठमाडौँ,१८ असोज संघीय संसद भवन नयाँ बानेश्वरमा बिहीबार बसेको राष्ट्रियसभा बैठक । तस्बिर किरणराज विष्ट रासस

काठमाडौँ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालन हुने तीन वर्षे पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रममा अबदेखि प्रवेश परीक्षा नहुने भएको छ । यस वर्षदेखि विद्यार्थी छनोटका लागि प्रवेश परीक्षा हटाई सीईई (एसईई) को जीपीएको आधारमै भर्ना हुने व्यवस्था मिलाइएको हो ।सीटीईभीटीले एसईईको ग्रेडिङ प्रणालीलाई वैज्ञानिक र पारदर्शी ठहर गर्दै जीपीएकै आधारमा भर्ना प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । यससँगै अब इच्छुक विद्यार्थीलाई देशभरबाट काठमाडौं आएर प्रवेश परीक्षामा सहभागी हुनुपर्ने बाध्यता हटेको परिषद्ले जनाएको छ ।

सीटीईभीटीका सूचना अधिकारी एकराज अधिकारीका अनुसार अघिल्ला वर्षहरूमा हरेक विद्यार्थीलाई प्रवेश परीक्षा दिई भर्ना गराइन्थ्यो । तर पछिल्लो समय स्वास्थ्य बाहेकका धेरै प्राविधिक कार्यक्रमप्रति विद्यार्थीको आकर्षण घट्दै गएको कारण परिषद्ले नीति परिवर्तन गर्नुपरेको हो ।‘कतिपय कार्यक्रममा तोकिएको कोटाभन्दा पनि कम विद्यार्थी आउन थालेपछि प्रवेश परीक्षाको औचित्यमै प्रश्न उठ्न थाल्यो,’ अधिकारीले भने, ‘४८ कोटा भएको कार्यक्रममा ४० मात्र विद्यार्थी आएपछि जीपीएका आधारमा भर्ना गर्ने नीति अपनाइएको हो ।’

नर्सिङ, स्वास्थ्य सहायक (एचए) र फार्मेसी बाहेकका कतिपय कोटामा सिट खाली हुने क्रम बढेपछि सीटीईभीटीले प्रवेश परीक्षालाई अनावश्यक मान्दै नयाँ नीति लागू गरेको हो । अब विद्यार्थीलाई जीपीएको आधारमा प्राथमिकता दिइनेछ भने समान ग्रेड भएको अवस्थामा अन्य मापदण्ड तय गरेर भर्ना प्रक्रिया अघि बढाइने परिषद्ले जनाएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्