रुसमा विमान दुर्घटना : ४९ जना सवार यात्रु सबैको मृत्यु

Sagarmatha Post
Sagarmatha Post ९ श्रावण २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौँ । रुसको सुदूर पूर्वी अमुर क्षेत्रमा ४९ जना सवार यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा सबैको मृत्यु भएको छ। स्थानीय समाचार एजेन्सीहरूले उद्धृत गरेको रुसको नागरिक रक्षा, आपतकालीन तथा विपद् राहत मन्त्रालयका अनुसार ‘अंगारा’ एयरलाइनको एन–२४ विमान टिन्डा सहरमा अवतरण गर्ने क्रममा बिहीबार राडारबाट सम्पर्कविहीन भएको थियो।उद्धारकर्मीहरूले विमानको भग्नावशेष जलिरहेको अवस्थामा फेला पारेका छन्। इन्टरफ्याक्सका अनुसार विमानका टुक्राहरू अमुर क्षेत्रमा छरिएका थिए। मन्त्रालयले टेलिग्राममार्फत जनाउँदै भन्यो, “रोसाभियात्सियाको एमआई–८ हेलिकप्टरले जलिरहेको भग्नावशेष देखेको छ।”

दुर्घटनाको कारणबारे प्रारम्भिक अनुमानअनुसार खराब मौसम र दृश्यता कम हुँदा अवतरणका क्रममा चालक दलबाट त्रुटि भएको हुनसक्ने टासले जनाएको छ। विमानमा ५ बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दल थिए, यद्यपि आपतकालीन मन्त्रालयले यात्रु संख्या करिब ४० रहेको पनि जनाएको छ। रुसका आर्कटिक र सुदूर पूर्वका दुर्गम क्षेत्रमा हवाई यात्रा मौसम र पुराना विमानका कारण जोखिमपूर्ण मानिन्छ। सन् २०२१ मा पनि यस्तै दुर्घटनामा पुरानो एन्टोनोभ एन–२६ विमान खस्दा कामचाट्कामा २८ जनाको ज्यान गएको थियो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्