अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार साझेदार देशहरूलाई भन्सारको नयाँ दर तोकेका छन् । बिहीबार राति ट्रम्पले भन्सारको नयाँ दर तोकिएको कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । अप्रिल २ मा ट्रम्पले रेसिप्रोकल भन्सार दर घोषणा गरेका थिए। तर एक सातामै ७० वटाभन्दा बढी देशलाई लगाएको उच्च पारस्परिक दर फिर्ता लिए र सबैलाई १० प्रतिशत दर लगाएका थिए ।त्यसबीच परस्पर छलफलबाट व्यापार सम्झौता गरी सहमतिअनुसारको भन्सार दर तोक्ने भनेका थिए । ट्रम्पले दिएको तीन महिनाको अवधि शुक्रबारदेखि सकिँदैछ ।
यसबीचमा केही देशहरूसँग ट्रम्पले व्यापार सम्झौता गरे पनि अधिकांश देशहरूसँग छलफलको माध्यमबाट सम्झौता हुन सकेन । युरोपेली संघलाई १५ प्रतिशत,जापानलाई १५ प्रतिशत, बेलायतलाई १० प्रतिशत तथा दक्षिण कोरिया, भियतनाम, फिलिपिन्स र इन्डोनेशियालाई १५ देखि १९ प्रतिशत भन्सार शुल्क लाग्ने यसअघि नै सहमति भएको छ ।ट्रम्पले नयाँ घोषणा गरेको भन्सार दर १० प्रतिशतदेखि ५० प्रतिशतसम्म तोकिएको छ । अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले क्यानडामाथिको भन्सार २५ प्रतिशतबाट बढाएर ३५ प्रतिशत पुर्याएका छन् । बोलिभिया, इक्वेडर, आइसल्याण्ड र नाइजेरियालाई १५ प्रतिशत भन्सार तोकेका छन् ।
श्रीलंका र ताइवानलाई २० प्रतिशत भन्सार तोकेका छन् । सिरिया, लाओस र म्यानमारलाई उच्च भन्सार लाग्ने भएको छ। न्युयोर्क टाइम्सका अनुसार यी देशहरूमा ४० देखि ४१ प्रतिशत भन्सार तोकिएको छ।ब्राजिललाई सबैभन्दा बढी ५० प्रतिशत भन्सार तोकेका छन्। त्यहाँ पूर्वराष्ट्रपति जाइर बोल्सोनारोमाथि मुद्दा चलाइए ५० प्रतिशत भन्सार लगाउने घोषणा ट्रम्पले यसअघि नै गरेका थिए ।
बोल्सनारो ट्रम्पका मित्र हुन्। उनीमाथि कू को प्रयास गरेको अभियोग उनीमाथि छ । ट्रम्पले भन्सार बढाउने भनेर धम्की दिए पनि त्यहाँ उनीविरूद्ध मुद्दा चलाइएको छ। ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले भन्सारको प्रतिवाद गर्ने बताएका थिए ।यो साता नै अमेरिकी अधिकारीहरूले चिनियाँ अधिकारीहरूसँग व्यापार युद्धविराम बढाउने विषयमा छलफल गर्ने न्युयोर्क टाइम्सले लेखेको छ ।ट्रम्पले पारस्परिक भन्सार घोषणा गर्दा चीनले पनि प्रतिवाद गरेपछि दुई देशबीच व्यापार युद्ध नै भएको थियो। त्यतिबेला अमेरिकाले चीनमाथि भन्सार दर १४५ प्रतिशतसम्म पुर्याउँदा चीनले पनि १२५ प्रतिशतसम्म पुर्याएको थियो ।चीन पछि नहटेपछि ट्रम्प झुक्न बाध्य भए र पछि वार्तामार्फत ९० दिनका लागि भन्सार दर ११५ प्रतिशत बिन्दुले घटाउन दुवै देश सहमत भएका थिए । अहिले अमेरिकाले ३० प्रतिशत र चीनले १० प्रतिशत भन्सार लगाउँदै आएका छन्। अगस्ट १२ मा त्यो समय सकिँदैछ। त्यसअघि नै दुई देशबीच छलफल गर्ने तयारी रहेको न्युयोर्क टाइम्सले लेखेको छ ।
ट्रम्पले भारतलाई २५ प्रतिशत भन्सार लगाउने घोषणा यसअघि नै गरिसकेका छन् ।
ट्रम्पले घोषणा गरेको नयाँ भन्सार दर अगस्ट ७ देखि लागू हुने भनिएको छ।
कुन देशलाई कति भन्सार?
देश भन्सार दर
अफगानिस्तान १५%
अल्जेरिया ३०%
एंगोला १५%
बंगलादेश २०%
बोलिभिया १५%
बोसनिया र हर्जगोभिना ३०%
बोत्सवाना १५%
ब्राजिल १०%
ब्रुनाई २५%
कम्बोडिया १९%
क्यामरून १५%
चाड १५%
कोस्टारिका १५%
कोट दि आइभोरी १५%
कंगो १५%
इक्वेडर १५%
इक्वेटोरियल गुयना १५%
फल्कल्याण्ड आइल्याण्ड १०%
फिजी १५%
घाना १५%
गुयना १५%
आइसल्याण्ड १५%
भारत २५%
इन्डोनेशिया १९%
इराक ३५%
इसराइल १५%
जापान १५%
जोर्डन १५%
कजाकस्तान २५%
लाओस ४०%
लेसोथो १५%
लिबिया ३०%
म्याडागास्कर १५%
मलेसिया १९%
मौरिसस १५
म्यानमार ४०%
नामिबिया १५%
नाउरू १५%
न्यूजिल्याण्ड १५%
निकारागुआ १८%
नाइजेरिया १५%
नर्वे १५%
पाकिस्तान १५%
फिलिपिन्स १९%
सर्बिया ३५%
दक्षिण अफ्रिका ३०%
दक्षिण कोरिया १५%
श्रीलंका २०%
स्वीटजरल्याण्ड ३९%


प्रतिक्रिया दिनुहोस्