हलेसी मन्दिर दर्शन गरेर फर्किँदै गरेका यात्रु सवार माइक्रोबस दुर्घटना : एक जनाको मृत्यु , १४ जना घाइते

Sagarmatha Post
Sagarmatha Post २० श्रावण २०८२, सोमबार
2 Min Read
Aa

खोटाङको हलेसी मन्दिर दर्शन गरेर फर्किँदै गरेका यात्रु सवार माइक्रोबस आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।प्रदेश २–०–१–००१ ज ००५३ नम्बरको माइक्रोबस जयराम–हलेसी सडकखण्डअन्तर्गत कदुवास्थित डौँठेखोला नजिकै सोमबार बिहान करिब ८ बजे सडकबाट झण्डै २०० मिटर तल खसेको हो। दुर्घटनाग्रस्त गाडीमा १६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाउने यात्रु र अन्य घाइतेहरूको पहिचान खुल्न बाँकी छ। घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। उनीहरूलाई हलेसी तुवाचुङ नगरपालिकाको एम्बुलेन्समार्फत काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको नगर प्रवक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष कमल गिरीले जानकारी दिए।अन्य आठ जना यात्रुको घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य हुँदै गएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार प्रहरी टोली र स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरिएको हो। प्रत्यक्षदर्शीका अनुसार गाडी बुट्यान र झाडी भएको क्षेत्र हुँदै तल खसेकोले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो।माइक्रोबस दुर्घटनामा परेका यात्रुहरू साउन महिनाभर हलेसीमा लाग्ने ‘बोलबम मेला’ मा सहभागी भएर फर्किरहेका थिए। हिन्दू, बौद्ध र किरात धर्मावलम्बीहरूको त्रिधार्मिकस्थल हलेसीमा विशेषतः साउन महिनामा ठूलो सङ्ख्यामा दर्शनार्थी पुग्ने गर्दछन्।

दुर्घटनाको कारण यकिन भइनसके पनि तीव्र गतिमा गाडी चलाइएको वा सडकको अवस्था कमजोर रहेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले घटनाको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्