११ करोड बढिका सुन/चाँदीका गरगहना र नगदसहित ११ जनालाई पक्राउ

Sagarmatha Post
Sagarmatha Post २६ श्रावण २०८२, आईतवार
2 Min Read
Aa

गौरव त्रिपाठी

कास्की । कास्की प्रहरीले ११ करोड बढिका सुन/चाँदीका गरगहना र नगदसहित ११ जनालाई पक्राउ गरेको छ । पोखरामा सुन–चाँदीको अवैध कारोबारमा संलग्न भारतीय गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको हो। प्रहरीले भारतको महाराष्ट्र, कलकत्ता र पश्चिम बंगालका स्थायी बासिन्दा भई पोखरामा कालिगढको काम गर्ने ११ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा राजेन्द्र रामचन्द्र जगताप, मनिक लाल आदक, सन्दीप ढाव, सोमनाथ पाल, दिपक सामन्त, गोविन्दा दिण्डा, असित वर, तापस सामन्त, उज्ज्वल भोमिक, सुनिता पवार र प्रोभास माझी रहेका छन्।

उनीहरूलाई पोखरा महानगरपालिका–२, ३, ४ र ९ नम्बर वडामा अवैध सुन–चाँदी कारोबार भइरहेको सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलीयाले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनु भयो। शुक्रबार अपराह्न सूचना पाएपछि गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयहरूको संयुक्त टोली अपरेसनमा खटिएको थियो। प्रहरीले उक्त अपरेसनलाई ‘अपरेसन यलो मेटल’ नाम दिएको हो।

उनीहरूको साथबाट ५ सय ४९ तोला ४० लाल ६ किलो ४ सय ग्राम सुन, ४ सय ४४ तोला ७३ लाल ९५ किलो ३ सय ग्राम० चाँदी र नगद ५ लाख १४ हजार ६ सय ६५ रुपैयाँ बरामद भएको एसपी ओलीयाले बताउनु भयो। पक्राउ परेकाले भारतबाट सुन ल्याई पोखरामा प्रशोधन गरी बेचबिखन गर्ने गरेको तथ्य फेला परेको कास्की प्रहरीले जनाएको छ । बजार मूल्यअनुसार बरामद सुनको मूल्य ११ करोड १ लाख ४ हजार रुपैयाँ र चाँदीको मूल्य १० लाख ३९ हजार रुपैयाँ पर्छ। पक्राउ परेका ११ जनालाई थप अनुसन्धानका लागि बरामद सामानसहित राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने जानकारी एसपी श्यामबाबु ओलीयाले बताउनु भयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्