दाइजो उन्मूलनसँगै बालविवाह अन्त्य अभियानमा मुस्लिम धर्मगुरुको प्रतिबद्धता

Sagarmatha Post
Sagarmatha Post २ भाद्र २०८२, सोमबार
1 Min Read
Aa

बाँके। मुस्लिम समुदायमा दाइजो प्रथा र बालविवाह अन्त्य गर्न धर्मगुरुहरू सक्रिय अभियानमा उत्रिने भएका छन् । नेपालगञ्जमा उलेमा काउन्सिल नेपालले आयोजना गरेको जिल्ला अधिवेशन तथा दाइजो उन्मूलन कार्यक्रममा धर्मगुरुहरूले दाइजोविरुद्ध सशक्त अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।कार्यक्रममा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले दाइजोका कारण छोरी पढ्न नपाउने, हिंसाको सिकार हुने र विवाह नै टारिनुपर्ने अवस्था सिर्जना भएको भन्दै धर्मगुरुले सञ्चालन गर्ने अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

उलेमा काउन्सिल नेपालका उपाध्यक्ष मुफ्ति कैफुलवरा खानले दाइजोका कारण उत्पन्न समस्या र छोरीको शिक्षामा देखिएको अवरोधलाई ध्यानमा राख्दै छोरी पढाउने र विवाहमा सहयोग गर्ने अभियान सुरु गर्ने जानकारी दिनुभयो । उहाँले दाइजो प्रथा बढे बालविवाह पनि बढ्ने भएकाले दुवै अन्त्यका लागि धर्मगुरुहरू दृढ रूपमा लाग्ने बताउनुभयो ।

लुम्बिनी प्रदेशका प्रतिनिधि कारी कमरुद्दीनले महिला हिंसाको सुरुवात दाइजो प्रथाबाट हुने र कम दाइजो लाग्ने विश्वासका कारण बालविवाह बढ्ने उल्लेख गर्दै यसलाई अन्त्य गर्न धार्मिक नेतृत्व निर्णायक रूपमा अघि बढ्ने जानकारी दिनुभयो । अधिवेशनले मौलाना नसीरुद्दीन अंसारीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । कार्यक्रममा नेपालगञ्जका उपमेयर कमरुद्दीन राई, प्रहरी उपरीक्षक रामप्रसाद घर्तिमगर, मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष मोहम्मद हारुन हल्वाइसहित बाँके–बर्दियाका धर्मगुरु र सामाजिक अभियन्ताहरूको सहभागिता थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्