रबिन थपलिया । काठमाण्डौं । मंसिर ८ । तारकेश्वर नगरपालिकाकै इतिहाँसमा सर्वाधीक खेलाडीहरुको सहभागीता सहित सर्वाधीक पुरस्कार राशी रहेको चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता यहि मंसिर १३ गते देखि सञ्चालन हुने भएको छ ।
तारकेश्वर नगरपालिकाको आयोजनामा “खेल तारकेश्वरको ः सन्देश एकताको”भन्ने मुल नाराका सहित सञ्चालन हुने प्रतियोगिता मंसिर २० गते सम्म चल्नेछ । तारकेश्वरका समुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत १८ बर्ष मुनिका विद्यार्थीहरुको मात्र सहभागीता रहने यस प्रतियोगितामा ७८ स्वर्ण, ७८ रजत र ७८ कास्य सहित २३४ पदकका लागि प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा यस पटक तारकेश्वरका ६० विद्यालयका ५ हजार भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहनेछ ।
प्रतियोगितामा फुटबल, बास्केटबल, टेबलटेनिस, व्याडमिन्टन, कराँते, उसु, तेक्वान्दो लगायत ११ बिदाका खेलहरु रहनेछन् । प्रतियोगितामा यस पटक चेस खेललाई समेत थप गरिएको छ । चेस बौद्धिक खेल रहेकाले नगरप्रमुख कृष्ण हरि महर्जनकै आग्रहमा यस पटक देखि चेसलाई पनि प्रतियोगितामा समावेश गरिएको तारकेश्वर नगरपालिकाको शिक्षा समिति सदस्य एवं चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक राजेन्द्र प्रसाद तिमिल्सीनाको बताउनुभयो ।
प्रतियोगिताको उदघाटन मंसिर १३ गते ११ बजे तारकेश्वर नगरपालिका वडा नं ८ स्थीत पिपलडाँडा खेल मैदानमा नगरप्रमुखले उदघाटन गर्नुहुनेछ भने मंसिर २० गते वडा नं ५ स्थित पृथ्वी नारायण मा.विमा प्रतियोगिता समापन हुनेछ ।
प्रतियोगितामा पहिलो हुने टिमले नगद रु १ लाख नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र, द्धितिय हुने टिमले नगद रु ६० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र, तृतिय हुने टिमले नगद रु ४० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा शान्त्वना बिजेता टिमले नगद रु २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । सर्वाधीक खेलाडी र सर्वाधीक पुरस्कार राशि सहितको यस प्रतियोगितालाई तारकेश्वरको खेलकुदको महाकुम्भको रुपमा समेत हेरीने गरिएको छ ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरी महर्जनले प्रतियोगिताले खेलकुदको बिकाससंगै तारकेश्वरका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरु बिच पारस्परिक सम्बन्ध कायम राख्न सहयोग पुग्ने विश्वास व्यक्तगर्नुभयो ।
मेयर रनिङ शिल्डको तिन वटा प्रतियोगिता सम्पन्न भईरहंदा लगातार दुई प्रतियोगिता तारकेश्वर १० स्थीत लालिगुराँस नेश्नल एकेडेमीले जितेको छ भने एउटा हिमरश्मीले जितेको छ । पहिलो रनिङ शिल्ड प्रतियोगिता हिमरश्मी स्कुलेले जितेको थियो भने दोश्रो र तेश्रो प्रतियोगिता लालिगुराँस नेश्नल एकेडेमीले जितेको थियो ।
प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गर्नका लागि चौथो मेयर रनिङशिल प्रतियोगिता २०८२ को संचालन तथा व्यवस्थापन समिति गठन गरिएको छ । १७ सदस्यीय समितिको संयोजकमा तारकेश्वर नगपालिकाको शिक्षा समिति सदस्य राजेन्द्र प्रसाद तिमिल्सीना र सह संयोजकमा बिक्रम खड्गी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा रबिना महर्जन, धनबहादुर पुन, नारायण काप्री, केदार प्रसाद गजुरेल, लोकेन्द्र बहादुर खड्का, गोपाल बुढाथोकी,कृष्ण ओझा, हरि कृष्ण अर्याल, तिर्थ महर्जन, शिव प्रसाद अर्याल, राजेन्द्र कुमार ओझा, पुर्ण तिमिल्सीना, प्रभुराम फुंयाल, गोविन्द भट्ट र सदस्य सचिबमा सुधिनराज बुढाथोकी रहनुभएको छ ।
तारकेश्वरको खेलकुदको विकासका लागि नगरप्रमुख कृष्ण हरि महर्जन नेतृत्वको टिम बिजयी भएर आएसंगै तारकेश्वरमा यस प्रतियोगिता सुरुवात गरिएको हो । तारकेश्वर नगरपालिकाले मेयर रनिङ शिल्ड प्रतियोगिताको सुरुवात देखि चौथो चरण सम्म आइपुग्दा खेलकुदको क्षेत्रमा निकै ठुलो उपलव्धी हाँसील भएको छ । स्थानीय निकायका खेलाडीहरु बिचको प्रतिष्पर्धा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ११ औं चरण सम्म सहभागी नभएको तारकेश्वर नगरपालिकाले पहिलो तारकेश्वर मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएसंगै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएको थियो । राष्ट्रपति रनिङ शिल्डमा पहिलो पटक सहभागी भएर तारकेश्वर नगरपालिका काठमाण्डौं जिल्लामा दोश्रो स्थान हाँसील गर्न सफल भएको थियो भने गत बर्ष दोश्रो र तेश्रो मेयर रनिङ शिल्ड प्रतियोगिता समेत सम्पन्न गरेको तारकेश्वरले १३ औ र १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लगातार दुई पटक काठमाण्डौं जिल्लाकै स्थानीय निकायहरुमा पहिलो स्थान हाँसील गर्न सफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस्