नुवाकोटको शिवपुरी गाउँपालिकामा आगामी पौष २२ गतेदेखि ‘पाँचौँ राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्षकप खेलकुद प्रतियोगिता–२०८२’ आयोजना गर्ने भएको छ।
विद्यार्थीहरूको खेल प्रतिभा प्रस्फुटन गराउने र खेलकुदप्रति आकर्षण बढाउने उद्देश्यले गाउँपालिकाले तीन दिने खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो।

शिवपुरी–७ स्थित शिवपुरी रङ्गशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन पौष २२ गते बिहान ११ बजे गरिने गाउँपालिकाले जनाएको छ। प्रतियोगिता पौष २४ गतेसम्म चल्नेछ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते लगायतका विभिन्न खेलकुद विधाहरू समावेश गरिएका छन्। साथै, प्रतियोगितालाई अझ आकर्षक बनाउन सांस्कृतिक प्रस्तुतिहरू समेत रहने आयोजकले जनाएको छ।
शिवपुरी गाउँपालिका भित्रका विभिन्न विद्यालयका खेलाडीहरूको प्रतियोगितामा सहभागिता रहनेछ।
शिवपुरी गाउँपालिकाले खेलकुदलाई सामाजिक, शैक्षिक र नैतिक विकासको महत्वपूर्ण आधारका रूपमा लिँदै यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिँदै आएको छ।

गाउँपालिकाले खेलप्रेमी, अभिभावक तथा स्थानीय नागरिकलाई प्रतियोगितामा उपस्थित भई खेलाडीहरूलाई उत्साह प्रदान गर्न आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्