रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका क्षेत्रमा खाना पकाउने ग्यासको कृतिम अभाव हुन नदिन नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालकोे नेतृत्वमा आज बजार अनुगमन टोलीले आकस्मिक निरीक्षण गरेको छ । अनुगमनका क्रममा विभिन्न १० वटा पसलहरूमा लुकाएर राखिएको अवस्थामा २०० भन्दा बढी ग्यास सिलिन्डर फेला परेको छ । अनुगमको क्रममा शेषमती पुल नजिकै रहेको एक ग्याँस डिपोले आफ्नो डिपो भन्दा निकै पर रहेको गोदाममा २५ वटा भन्दा बढी पुरा तौलको ग्याँस लुकाएर राखेको अवस्थामा फेला पारेको छ । १४.५ केजीका ति ग्याँसका सिलिण्डरहरुलाई तत्काल लाईनमा रहेका उपभोक्तालाई बितरण गर्ने गरी व्यवसायीलाई सचेत गराईएको नगरउपप्रमुख सृजना बुर्लाकोटी अर्यालले जानकारी दिनुभयो ।
विगत एक साता यता तारकेश्वर बजार क्षेत्रका अधिकांश ग्यास डिलर र पसलहरूमा ग्यास सिलिन्डर नभएको भन्दै उपभोक्तालाई फर्काउने गरेको गुनासो बढेको थियो । अनुगमनका क्रममा लामो समयदेखि ग्यास पाउन नसकेका स्थानीय बासिन्दाहरुले ग्याँसका अभावका कारण भान्सा चलाउन समेत समस्यामा परेको उपप्रमुखसमक्ष पीडा सुनाएका थिए । केही सर्वसाधारणले त ग्यास अभावका कारण परम्परागत दाउराको प्रयोग गर्न बाध्य भएको समेत गुनासो गरेका थिए । स्थानीय गृहिणी सुजीता तामाङले भनिन्, “एक हप्तादेखि ग्यासको सिलिन्डर पाएका छैनौं। पसलमा सोध्दा आएको छैन, आपूर्ति छैन भन्छन्। बच्चाको खाना पकाउन समेत गाह्रो भयो”
उपभोक्ताको गुनासो र बजारमा फैलिएको ग्यास अभावको हल्लालाई गम्भीरतापूर्वक लिँदै तारकेश्वर नगरपालिकाकी उपप्रमुख सुजना बुर्लाकोटी अर्यालले नेपाल प्रहरी, नगर प्रहरी सहित उपभोक्ता अधिकारकर्मीहरु, नगरपालिकाका सरोकारवाला बिषयगत क्षेत्रका कर्मचारीहरु, पत्रकारहरु प्रतिनिधिहरू सहितको टोली लिएर आज बिहानैदेखि बजार क्षेत्रमा अनुगमन थाल्नुभएको हो । अनुगमनको क्रममा उपप्रमुखले कुनै पूर्वसूचना नदिई सिधै ग्यास डिलर र विक्रेताका पसलमा पुगेर भण्डारण कक्ष र स्टोररूमको निरीक्षण गर्नुभएको थियो।
अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रमुख सुजना बुर्लाकोटी अर्यालले उपभोक्ता हित विपरीतका क्रियाकलाप नियन्त्रण गर्न नगरपालिका सदैव तत्पर रहने बताउनुभयो। उहाँले उपभोक्तालाई कुनै प्रकारको समस्या परेमा वा बजारमा कृत्रिम अभाव भएको देखेमा तुरुन्त नगरपालिकाको ध्यानाकर्षण गराउन अनुरोध पनि गर्नुभयो ।
तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज लम्सालले ग्याँसको कृतिम अभाव हुन नदिन नगरपालिकाले अनुगमन गरेको बताँउदै कृतिम अभाब गरेको पाईएमा कानुन अनुसार कारबाही हुने चेतावनी दिनुभयो ।
ग्याँस अभावका बिच तारकेश्वर नगरपालिकामा उपभोक्ता संरक्षण र बजार नियमनको क्षेत्रमा नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतको सक्रियता र चासोलाई उजागर गरेको छ, जसले अन्य स्थानीय तहलाई समेत उदाहरणीय कदम चाल्न प्रेरित गर्न सक्ने अपेक्षा गरिएको छ ।




dffgd


प्रतिक्रिया दिनुहोस्