तारकेश्वर नगरपालिकाद्वारा अवैध प्लटिङमा कडाइ, अनधिकृत कार्य तुरुन्त बन्द गर्न निर्देशन

Sagarmatha Post
Sagarmatha Post २७ चैत्र २०८२, शुक्रबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र अनधिकृत रूपमा सञ्चालन भइरहेका जग्गा प्लानिङ तथा प्लटिङ कार्यहरूमा कडाइ गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै पूर्व स्वीकृति बिना गरिने यस्ता सम्पूर्ण तत्काल बन्द गर्न निर्देशन दिएको हो।
नगरपालिकाका अनुसार पछिल्लो समय विभिन्न स्थानमा डोजर प्रयोग गरी जग्गा सम्याउने, प्लानिङ गर्ने, प्लटिङ गर्ने तथा कित्ताकाट (खण्डीकरण) गर्ने जस्ता कार्यहरू अनधिकृत रूपमा भइरहेको जनगुनासो बढ्दै गएको छ । सोही आधारमा नगरपालिकाले स्थलगत अनुगमन गर्दा समेत यस्ता गतिविधिहरू पुष्टि भएको जनाएको छ ।
प्रमुख प्रशासकिय अधिकृत धर्मराज लम्सालद्धारा हस्ताक्षरीत सूचनामा भनिएको छ “प्रचलित कानुन तथा स्थानीय मापदण्ड विपरीत यस्ता कार्यहरू भइरहेको पाइएकाले अबदेखि यस्ता सबै गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ ।” नगरपालिकाले कुनै पनि व्यक्तिले जग्गा प्लानिङ वा प्लटिङ जस्ता कार्य गर्नुपरेमा अनिवार्य रूपमा नगरपालिकाबाट पूर्व स्वीकृति लिएर मात्र काम गर्न आग्रह गरेको छ ।
अनधिकृत रूपमा भइरहेका यस्ता कार्यले नगरको दीर्घकालीन योजना, पूर्वाधार विकास तथा व्यवस्थित बस्ती निर्माणमा नकारात्मक असर पार्ने भएकाले नियन्त्रण आवश्यक भएको नगरपालिकाको ठहर छ । अव्यवस्थित प्लटिङका कारण सडक, ढल, खानेपानी लगायत आधारभूत सेवामा समस्या उत्पन्न हुने र भविष्यमा शहरी व्यवस्थापन जटिल बन्ने खतरा रहेको पनि सूचनामा उल्लेख गरिएको छ ।
नगरपालिकाले चेतावनी दिँदै सूचनाको अवज्ञा गरी अनधिकृत रूपमा प्लानिङ तथा प्लटिङ कार्य जारी राखेमा प्रचलित कानुनअनुसार जरिवाना तथा अन्य कानुनी कारबाही गरिने जनाएको छ । यसका साथै यस्ता कार्यमा संलग्न व्यक्ति वा समूहलाई पहिचान गरी आवश्यक कारबाही अगाडि बढाइने पनि बताइएको छ ।
स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने यस्ता विषयमा निगरानी बढाइएको नगरपालिकाले जनाएको छ । सम्बन्धित निकायहरूलाई समेत सहकार्यका लागि आह्वान गर्दै नगरपालिकाले स्थानीयवासीलाई यस्ता अवैध गतिविधिबारे जानकारी दिन अनुरोध गरेको छ।
नगरपालिकाको यो कदमले अनियन्त्रित तथा अव्यवस्थित भू–उपयोगलाई नियन्त्रण गरी व्यवस्थित शहरी विकासतर्फ अघि बढ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, यसले भविष्यमा हुन सक्ने भू–सम्बन्धी विवाद र पूर्वाधार समस्यालाई न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

May be an image of blueprint and text

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्