रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र बढ्दै गएको सार्वजनिक जग्गा अतिक्रमण नियन्त्रण गर्न कडा कदम चालेको छ । नगर कार्यपालिकाको कार्यालय, धर्मस्थलीबाट जारी गरिएको पछिल्लो सूचनामार्फत साविक फुटुङ गा.विस वडा नं. ६ अन्तर्गत पर्ने कित्ता नं. ३५७ को सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका टहरा तथा विभिन्न भौतिक संरचनाहरू ७ दिनभित्र अनिवार्य रूपमा हटाउन निर्देशन दिइएको छ।
नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएअनुसार उक्त जग्गा लामो समयदेखि केही व्यक्तिहरूद्वारा अतिक्रमण गरी व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुँदै आएको पाइएको छ। सार्वजनिक प्रयोजनका लागि छुट्याइएको जग्गामा अवैध रूपमा टहरा, गोदाम तथा अन्य संरचना निर्माण गरेर प्रयोग भइरहेको भन्ने जानकारी स्थानीय तहमा पुगेपछि नगरपालिकाले यस विषयमा गम्भीर चासो देखाएको हो।
यसअघि पनि वडा नं. ७ को कार्यालयमार्फत १५ दिनको समयसीमा दिई उक्त संरचना हटाउन सूचना प्रकाशित गरिएको थियो। तर, सम्बन्धित व्यक्तिहरूले तोकिएको समयसीमा भित्र अटेरी गर्दै संरचना नहटाएको पाइएको नगरपालिकाले जनाएको छ। त्यसपछि पुनः कडाइका साथ ७ दिनभित्र संरचना हटाउन अन्तिम चेतावनी जारी गरिएको हो।
नगरपालिकाका अनुसार सार्वजनिक जग्गा अतिक्रमणको विषयमा स्थानीय स्तरबाट व्यापक गुनासो र उजुरीहरू प्राप्त भएका थिए। विशेषगरी फुटुुङ सरोकार मञ्च लगायत नागरिक समाजका प्रतिनिधिहरूले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न माग गर्दै निरन्तर दबाब सिर्जना गरेका थिए। यसै सन्दर्भमा नगरपालिकाले स्थलगत अनुगमन, कागजी प्रक्रिया तथा तथ्य प्रमाणको आधारमा अतिक्रमण पुष्टि गरेको जनाएको छ।
सूचनामा स्पष्ट रूपमा भनिएको छ कि सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सम्बन्धित व्यक्तिहरूले आफैंले निर्माण गरेका सम्पूर्ण भौतिक संरचनाहरू हटाई सार्वजनिक जग्गा खाली गर्नुपर्नेछ। अन्यथा, प्रचलित कानुन बमोजिम नगरपालिकाले बल प्रयोग गरी संरचना हटाउने र सम्बन्धित व्यक्तिलाई कानुनी कारबाहीमा ल्याउने चेतावनी दिइएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालद्वारा हस्ताक्षरित उक्त सूचनाले सार्वजनिक सम्पत्ति संरक्षणमा कुनै पनि प्रकारको लापरवाही सह्य नहुने सन्देश दिएको छ। साथै, नगरवासीलाई सार्वजनिक जग्गा संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।
सार्वजनिक जग्गा अतिक्रमण नेपालको सहरी क्षेत्रहरूमा देखिने दीर्घकालीन समस्यामध्ये एक हो। विशेषगरी शहरीकरण तीव्र गतिमा बढ्दै जाँदा सरकारी तथा सार्वजनिक प्रयोजनका लागि छुट्याइएका जग्गाहरूमा निजी स्वार्थका लागि अतिक्रमण हुने प्रवृत्ति बढ्दो देखिन्छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तहहरूमा यस्ता समस्या पटक–पटक देखिँदै आएका छन्।
तारकेश्वर नगरपालिकाले भने यस विषयमा पछिल्लो समय सक्रियता बढाएको देखिन्छ। नगरपालिकाले सार्वजनिक जग्गाको अभिलेखीकरण, अनुगमन र संरक्षणलाई प्राथमिकतामा राख्दै अतिक्रमण हटाउने अभियानलाई तीव्रता दिएको जनाएको छ। यसले दीर्घकालीन रूपमा नगरको योजनाबद्ध विकास, पूर्वाधार निर्माण तथा वातावरणीय सन्तुलन कायम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।



प्रतिक्रिया दिनुहोस्