रबिन थपलिया । काठमाडौं । १५औँ काठमाडौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तारकेश्वर नगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको छ। जिल्लाभरका विभिन्न नगरपालिकाबीच कडा प्रतिस्पर्धा भएको उक्त प्रतियोगितामा तारकेश्वरले सर्वाधिक पदक जित्दै आफूलाई पुनः एकपटक बलियो खेल शक्तिको रूपमा स्थापित गरेको हो। कुल ६६ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा तारकेश्वरले ४४ स्वर्ण, २४ रजत र १३ कास्य पदक जित्दै सहज रूपमा पहिलो स्थान हासिल गरेको हो। लगातार तेस्रो पटक उपाधि जितेसँगै तारकेश्वरले यसपटक शिल्ड नै आफ्नो नाममा स्थायी रूपमा राख्न सफल भएको छ।
प्रतियोगितामा तारकेश्वरको वर्चस्व विशेषगरी एथलेटिक्स र उसु खेलमा देखिएको थियो। एथलेटिक्सतर्फ उपलब्ध २६ स्वर्णमध्ये २४ स्वर्ण जित्नु आफैंमा उल्लेखनीय उपलब्धि हो। यसले तारकेश्वरको प्रशिक्षण प्रणाली, खेलाडीको तयारी र व्यवस्थापनको स्तर कति मजबुत छ भन्ने स्पष्ट पार्छ। त्यस्तै, उसु खेलतर्फ पनि तारकेश्वरले १२ मध्ये ९ स्वर्ण जित्दै प्रतिस्पर्धीहरूलाई निकै पछि पार्यो। अन्य खेलहरूमा पनि तारकेश्वरका खेलाडीहरूले सन्तुलित प्रदर्शन गर्दै समग्र पदक तालिकामा अग्रता कायम राखे।
यस प्रतियोगितामा चन्द्रागिरि नगरपालिका दोस्रो स्थानमा रह्यो। चन्द्रागिरिले ६ स्वर्ण, १० रजत र २० कास्य पदक जित्दै उपविजेताको स्थान सुरक्षित गरेको हो। यद्यपि स्वर्ण पदकको संख्यामा ठूलो अन्तर रहे पनि चन्द्रागिरिले रजत र कास्य पदकमा राम्रो उपस्थिति जनाउँदै प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरेको देखियो। विशेषगरी टिम इभेन्टहरूमा चन्द्रागिरिका खेलाडीहरूले संघर्षपूर्ण खेल प्रदर्शन गरेका थिए।
त्यस्तै नागार्जुन नगरपालिका ५ स्वर्ण, ८ रजत र १६ कास्य सहित तेश्रो स्थान हाँसील गर्न सफल भयो ।
प्रतियोगितको चौथो स्थान भने काठमाण्डौं महानगरपालिकाले सुरक्षित गर्यो । महानगरले ५ स्वर्ण, ३ रजत र ७ कास्य पदक जित्यो ।
त्यस्तै टोखा नगरपालिकाले ३ स्वर्ण,१ रजत र १ कास्य सहित पाँचौ, दक्षिणकाली नगरपालिका २ स्वर्ण, ३ रजत र ३ कास्य पदक सहित छैठौं र किर्तिपुर नगरपालिकाले १ स्वर्ण, १० रजत र १२ कास्य सहित पदक पदक तालिकाको अन्तिममा राखेको छ ।
काठमाण्डौं जिल्ला खेलकुद संघको आयोजनामा भएको प्रतियोगितामा काठमाण्डौं जिल्लाका ७ स्थानीय निकायको सहभागीता रहेको थियो । स्रोत साधनले सम्पन्न मानिने काठमाण्डौं महानगरपालिकाले तारकेश्वर नगरपालिकाको अगाडी निकै कम्जोर रुपमा आफुलाई उभ्याएको देखियो ।
प्रतियोगिताको समापन समारोहमा विजेता खेलाडी तथा टोलीलाई पुरस्कार वितरण गरिएको थियो। तारकेश्वर नगरपालिकाकी कार्यवाहक मेयर सृजना बुर्लाकोटी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा विजेता तारकेश्वर नगरपालिकाका खेलाडी तथा प्रशिक्षकलाई विशेष सम्मान प्रदान गरिएको थियो भने उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई व्यक्तिगत पुरस्कार समेत प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै तारकेश्वर नगरपालिकाकी कार्यवाहक मेयर सृजना बुर्लाकोटी अर्यालले लगातार तेश्रो जितसंगै तारकेश्वरले शिल्डनै आफ्नो बनाउन सफल भएकोमा निकै खुसी लागेको बताँउदै तारकेश्वरलाई यो स्थानमा उभ्याउन विशेष भुमिका खेल्ने सबै प्रति आभार व्यक्त गर्नुभयो ।
उहाँले आगामी दिनमा खेलकुद पूर्वाधार विस्तार र प्रतिभा विकासमा थप लगानी गरिने प्रतिबद्धता पनि जनाउनुभयो।
कार्यक्रममा काठमाण्डौं जिल्ला खेलकुद संघका अध्यक्ष भाईकृष्ण बलामीले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबै निकायप्रति आभार व्यक्त गदै बिजेता खेलाडीहरुलाई बधाई र सुभकामना व्यक्तगर्नुभयो । उहाँले यस्ता प्रतियोगिताले विद्यालयस्तरबाटै खेल प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रममा तारकेश्वर नगरपालिकाको खेलकुद विकास समितिका अध्यक्ष बिक्रम खड्गीले खेलकुदमा तारकेश्वर नगरपालिकाले गरेको लगानीका कारण नतिजा आईरहेको बताँउदै तारकेश्वरको जितले खेलकुद क्षेत्रमा नयाँ सन्देश दिएको बताउनुभयो ।
सो अवसरमा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, शिक्षा शाखा प्रमुख सुधिनराज बुढाथोकी, तारकेश्वर नगरपालिकाको खेलकुद विकास समितिका अध्यक्ष बिक्रम खड्गी, संस्कृति शिक्षा सदनका अध्यक्ष रबि केसी, तारकेश्वर नगरपालिकाको शिक्षा समिति सदस्य राजेन्द्र तिमिल्सीना, बिभिन्न विद्यालयका प्रधानाध्यापकहरु लगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रममा खेलाडीहरुले बिभिन्न खेलका डेमोस्ट्रेसन समेत देखाएका थिए ।



ghh


प्रतिक्रिया दिनुहोस्