रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. १० स्थीत शिवनगर टोल विकास समितिको १५ औँ वार्षिक साधारण सभा तथा अधिवेशन भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । एन्जल्र्स हार्ट सेकेन्डरी स्कुलमा आज विहान भएको अधिवेशनले विगतको निरन्तरता र विश्वासलाई कायम राख्दै गिर्वाण केसीको अध्यक्षतामा पुरानै कार्यसमितिलाई सर्वसम्मत रूपमा पुनः चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष गिर्वाण केसीसँगै उपाध्यक्षमा बबिता थापा, सचिवमा जगन्नाथ आचार्य, सहसचिवमा सिता पुरी र कोषाध्यक्षमा जमुना घिमिरे चयन भएका छन्। त्यस्तै सदस्यहरूमा प्रेम बहादुर बोहरा, शान्ता श्रेष्ठ, लक्ष्मीदेवी श्रेष्ठ र रामभक्त घिमिरे रहेका छन्। सर्वसम्मत चयनले टोलबासीबीचको आपसी विश्वास, समझदारी र साझा लक्ष्यप्रतिको प्रतिबद्धतालाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष ऋषि लोहनीलाई विशेष सम्मान प्रदान गरिएको थियो। उहाँको योगदानको कदर गर्दै गरिएको सम्मानले संस्थागत निरन्तरता र अग्रजहरूको अनुभवलाई मूल्यांकन गर्ने संस्कारलाई उजागर गरेको छ।
तारकेश्वर नगरपालिका वडा नं. १० का अध्यक्ष कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। काठमाण्डौं जिल्ला प्याव्सनका उपाध्यक्ष धन बहादुर पुन, संस्थाका सल्लाहकार श्यामकृष्ण बिष्ट, तारकेश्वर नगरपालिकाकी कार्यपालिका सदस्य शान्ता थपलिया, वडा सदस्य विक्रम महर्जन लगायतको सहभागिताले कार्यक्रमलाई अझ गरिमामय बनाएको थियो।
कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष कुमार राईले आफ्नो मन्तव्यमा स्थानीय विकासका लागि टोल सुधार समितिहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउँदै शिवनगर टोलले देखाएको एकता र सक्रियता अन्य टोलहरूका लागि उदाहरणीय रहेको उल्लेख गर्नुभयो। उहाँले विकासका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जनसहभागिता अपरिहार्य हुने धारणा राख्नुभयो।
त्यसैगरी, तारकेश्वर नगरपालिकाकी नगर कार्यपालिका सदस्य शान्ता थपलियाले महिला सहभागिता र समावेशीताको पक्षलाई जोड दिँदै टोलस्तरका संस्थाहरूले सामाजिक रूपान्तरणमा नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा काठमाण्डौं जिल्ला प्याव्सनका उपाध्यक्ष तथा एन्जल्स हार्ट सेकेन्डरी स्कुलका प्रिन्सिपल धन बहादुर पुनले शिक्षा क्षेत्रमा भइरहेको प्रगतिबारे चर्चा गर्दै शिवनगर टोल अन्तर्गत रहेको विद्यालयले टोलको प्रतिष्ठा जोगाउने गरी उल्लेखनीय उपलब्धि हासिल गरिरहेको बताउनुभयो। उहाँले टोलभित्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई टोल सुधार समितिको सिफारिसमा छात्रवृत्ति उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै शिक्षा पहुँच विस्तारमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
अधिवेशनमा अध्यक्ष गिर्वाण केसीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो, जसमा विगत एक वर्षमा सम्पन्न भएका विविध सामाजिक, सरसफाइ, पूर्वाधार तथा जनचेतनामूलक कार्यक्रमहरूको विस्तृत विवरण समेटिएको थियो। उहाँले आगामी दिनहरूमा टोललाई अझ व्यवस्थित, स्वच्छ र समुन्नत बनाउने लक्ष्यसहित कार्य अघि बढाइने स्पष्ट पार्नुभयो।
सचिव जगन्नाथ आचार्यले संस्थाका भावी कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दै दीर्घकालीन योजनाहरूमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक सद्भावलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।
त्यस्तै कोषाध्यक्ष जमुना घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आय–व्ययको पारदर्शी विवरण सार्वजनिक गर्नुभयो, जसले संस्थागत विश्वसनीयतालाई थप मजबुत बनाएको छ।



प्रतिक्रिया दिनुहोस्