रबिन थपलिया । काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. १० मनमैजुस्थित छन्त्याल संघ अगाडिको एक स्पामा सञ्चालन भइरहेको अवैध जुवाखालमा प्रहरीले आकस्मिक छापा मारेको छ ।
प्रहरीले गोप्य सूचनाका आधारमा सञ्चालन गरेको विशेष अपरेशन अन्तर्गत उक्त स्पामा छापा हानेको हो । बाहिरबाट सामान्य स्पा सेन्टरको रूपमा सञ्चालन भइरहेको स्थानभित्र ठूलो रकमको हारजित हुने गरी जुवा खेल भइरहेको सूचनापछि प्रहरी टोली निगरानीमा खटिएको थियो। त्यसपछि योजनाबद्ध रूपमा गरिएको छापाका क्रममा तास खेलिरहेका व्यक्तिहरूलाई रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरू विभिन्न जिल्लाका व्यवसायी, स्थानीय व्यक्ति तथा राजनीतिक पहुँच भएका व्यक्तिहरू रहेका छन्। पक्राउ परेकामध्ये नुवाकोटको विदुर नगरपालिका वडा नं. ६ का निर्वाचित वडा अध्यक्ष श्यामकृष्ण चालिसे पनि रहेका छन् ।
छापाका क्रममा प्रहरीले जुवाखालबाट करिब ४ लाख रुपैयाँ नगद बरामद गरेको जनाएको छ। त्यस्तै तासका गड्डी, मोबाइल फोन तथा जुवासँग सम्बन्धित अन्य सामग्रीसमेत नियन्त्रणमा लिइएको छ। पक्राउ परेका सबैलाई प्रहरी वृत्त बालाजुमा राखी थप अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार पछिल्लो समय काठमाडौं उपत्यकाभित्र स्पा, मसाज सेन्टर तथा मनोरञ्जन केन्द्रको आवरणमा अवैध गतिविधि बढ्दै गएको गुनासो आउने गरेको छ। कतिपय स्थानमा यस्ता केन्द्रहरू जुवा, अनैतिक क्रियाकलाप तथा आपराधिक समूहको जमघटस्थल बन्न थालेपछि सुरक्षा निकायले निगरानी कडा बनाएको जनाएको छ। मनमैजुको घटनाले पनि त्यही अवस्थालाई उजागर गरेको प्रहरी अधिकारीहरूको भनाइ छ।
स्थानीयवासीका अनुसार उक्त क्षेत्रमा रातको समयमा शंकास्पद गतिविधि बढ्दै गएको थियो। राति अबेरसम्म मानिसहरूको आवतजावत हुने, सवारी साधनको भीड लाग्ने तथा बाहिरी व्यक्तिहरूको बाक्लो उपस्थिति देखिने गरेपछि स्थानीयले समेत प्रहरीलाई जानकारी गराएको बताइएको छ। त्यसकै आधारमा प्रहरीको विशेष टोलीले छापा मारेको बुझिएको छ।
प्रहरीले पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धानपछि थप कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ। साथै राजधानीका विभिन्न क्षेत्रमा सञ्चालित स्पा तथा मनोरञ्जन केन्द्रमाथि निगरानी अझ कडा पारिने संकेत पनि दिएको छ।
मनमैजुमा जुवाको खालमा प्रहरीको छापा, वडा अध्यक्ष सहित १७ पक्राउ, जुवाको खालबाट करिब ४ लाख बरामद


प्रतिक्रिया दिनुहोस्