तारकेश्वरको गौरव : फुटुङ मा.वि.को एसईईमा सतप्रतिशत सफलता

Sagarmatha Post
Sagarmatha Post ५ जेष्ठ २०८३, मंगलवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिका–७ स्थित फुटुङ माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा शतप्रतिशत नतिजा ल्याउँदै ऐतिहासिक सफलता हासिल गरेको छ । परीक्षामा सहभागी भएका सबै ४६ जना विद्यार्थी उत्तीर्ण भएपछि विद्यालय यतिबेला खुसी र गौरवले भरिएको छ ।
तारकेश्वर–७ को एक मात्र सामुदायिक विद्यालयका रूपमा परिचित फुटुङ मा.वि.ले सामुदायिक विद्यालय पनि गुणस्तरीय शिक्षामा अब्बल बन्न सक्छन् भन्ने सन्देश दिएको छ । विद्यालयले सार्वजनिक गरेको नतिजाअनुसार अधिकांश विद्यार्थीले उत्कृष्ट जिपिए हासिल गरेका छन् ।
विद्यालयका सहायक प्रधानाध्यापक हरिकृष्ण खत्रीका अनुसार यो सफलता एक व्यक्ति वा एउटा पक्षको मात्र नभई सम्पूर्ण विद्यालय परिवारको संयुक्त मेहनतको परिणाम हो । उहाँले तारकेश्वर नगरपालिकाले शिक्षामा गरेको लगानी, विद्यालय व्यवस्थापन समितिको सक्रियता, शिक्षकहरूको समर्पण, अभिभावकको साथ तथा विद्यार्थीहरूको निरन्तर मेहनतकै कारण यस्तो उपलब्धि सम्भव भएको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक शन्त कुमार श्रेष्ठले सामुदायिक विद्यालयप्रति आम नागरिकको विश्वास अझ मजबुत बनाउने गरी नतिजा आएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले “संसाधन सीमित भए पनि इच्छाशक्ति, अनुशासन र मेहनत भए सफलता सम्भव हुन्छ भन्ने उदाहरण फुटुङ मा.वि.ले प्रस्तुत गरेको छ,” भन्नुभयो ।यस सफलतापछि वडा अध्यक्ष सानुकाजी खत्री, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा स्थानीयवासीले विद्यालय परिवारलाई बधाई दिएका छन् । स्थानीय समुदायले यो नतिजालाई तारकेश्वरकै शैक्षिक गौरवका रूपमा लिएको छ ।सामुदायिक विद्यालयप्रतिको नकारात्मक धारणा चिर्दै फुटुङ माध्यमिक विद्यालयले हासिल गरेको यो सफलता अन्य विद्यालयका लागि समेत प्रेरणादायी बनेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्