रबिन थपलिया । काठमाडौं । जेष्ठ ५ । तारकेश्वर नगरपालिकामा स्थापित एन्जल्स हार्ट एजुकेशन फाउण्डेसनले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उल्लेखनीय सफलता हासिल गर्दै आफूलाई गुणस्तरीय शिक्षाको भरोसायोग्य शैक्षिक संस्थाका रूपमा पुनः स्थापित गरेको छ । फाउण्डेसन अन्तर्गत सञ्चालित एन्जल्स हार्ट सेकेन्डरी स्कुल तथा कलेज, तारकेश्वर–१० र एन्जल्स हार्ट नेशनल स्कुल, तारकेश्वर–९ का विद्यार्थीहरूले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउँदै ९९ प्रतिशत सफलता हासिल गरेका हुन् ।
यस वर्ष परीक्षामा सहभागी ९२ जना विद्यार्थीमध्ये अधिकांश विद्यार्थी उत्कृष्ट ग्रेडसहित उत्तीर्ण भएका छन् भने ६ जना विद्यार्थीले सर्वोत्कृष्ट जिपिए ४ प्राप्त गरेर विद्यालयको गौरव अझ उचो बनाएका छन् । जिपिए ४ ल्याउने विद्यार्थीहरू अनामिका उप्रेती, शुभम महर्जन, सुविज्ञ रिमाल, सुदिप खड्का, स्वपनील थापा र उदय थापालाई विद्यालयले विशेष सम्मानस्वरूप ब्रान्डेड ल्यापटप प्रदान गरेको छ ।
प्रमुख अतिथि जिल्ला शिक्षा प्रमुख सुरेश जोशीले विद्यालयको उत्कृष्ट नतिजाको प्रशंसा गर्दै निजी विद्यालयले केवल नतिजामात्र नभई गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले एन्जल्स हार्टले विद्यार्थीमा प्रतिस्पर्धात्मक क्षमता विकाससँगै नैतिक शिक्षा र नेतृत्व विकासमा जोड दिएको उल्लेख गर्दै यसलाई उदाहरणीय कार्यको रूपमा व्याख्या गर्नुभयो ।
कार्यक्रममा प्रा. डा. केशव खड्का, डा. रविन कटवाल तथा एमबीबीएस अध्ययनरत विद्यार्थी प्रशान्त सुवेदीले पनि प्रेरणादायी मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूलाई लक्ष्यप्रति स्पष्ट, मेहनती र जिम्मेवार बन्न आग्रह गर्नुभयो । वक्ताहरूले वर्तमान समयको शिक्षा केवल परीक्षामुखी नभई समाज परिवर्तनको आधार बन्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै एन्जल्स हार्ट सेकेन्डरी स्कुल तथा कलेजका प्रिन्सिपल धनबहादुर पुनले जिपिए ४ ल्याउने ६ जना विद्यार्थीलाई कक्षा ११ र १२ मा पूर्ण निःशुल्क अध्ययनको व्यवस्था गरिने घोषणा गर्नुभयो । साथै अन्य विद्यार्थीहरूलाई पनि उच्च शिक्षाका लागि विशेष छात्रवृत्ति तथा शुल्कमा छुट प्रदान गरिने जानकारी दिनुभयो । उहाँले मेहनती र प्रतिभावान विद्यार्थीलाई प्रोत्साहन गर्नु विद्यालयको दायित्व भएको उल्लेख गर्दै भविष्यमा पनि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई यस्तै सम्मान र अवसर प्रदान गरिने बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै एन्जल्स हार्ट नेशनल स्कुलका प्रिन्सिपल टेकबहादुर थापाले विद्यालयले शैक्षिक उत्कृष्टतासँगै नैतिकता, अनुशासन, व्यवहारिक शिक्षा र सामाजिक उत्तरदायित्वलाई समेत समान महत्व दिँदै आएको बताउनुभयो । “विद्यालय केवल प्रमाणपत्र दिने संस्था होइन, भविष्य निर्माण गर्ने थलो हो,” प्रिन्सिपल थापाले भन्नुभयो, “विद्यार्थीको क्षमता, सिर्जनशीलता र आत्मविश्वास विकास गर्न सके मात्र वास्तविक शिक्षा सफल हुन्छ ।”
फाउण्डेसनका अध्यक्ष लीलबहादुर पुनले समापन मन्तव्यका क्रममा विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, नेतृत्व विकास, प्रविधिमैत्री सिकाइ र विद्यार्थीको सर्वाङ्गीण क्षमता विकासमा निरन्तर योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले शिक्षा क्षेत्रमा लगानी गर्नु भनेको राष्ट्रको भविष्य निर्माण गर्नु भएको उल्लेख गर्दै विद्यार्थीलाई सक्षम, नैतिक र जिम्मेवार नागरिक बनाउने अभियानमा विद्यालय निरन्तर लागिरहने बताउनुभयो ।
उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूको सम्मानमा एन्जल्स हार्ट एजुकेशन फाउण्डेसनले दियालो फुडल्याण्डमा सम्मान तथा विदाई कार्यक्रम आयोजना गरेको हो । विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई सम्मान गर्दै उनीहरूलाई आगामी शैक्षिक यात्रामा थप प्रेरणा दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रम उत्साह, भावुकता र गौरवपूर्ण वातावरणबीच सम्पन्न भएको थियो । कार्यक्रममा फाउण्डेसनका अध्यक्ष लीलबहादुर पुनको अध्यक्षता रहेको थियो भने कार्यक्रम सञ्चालन दिल बुढाथोकी र एम कुमारी गुरुङले संयुक्त रूपमा गर्नुभएको थियो ।
कार्यक्रममा कक्षा १० का विद्यार्थी विभु गिरी र नयन मगरले विद्यार्थी जीवनका अनुभव, संघर्ष र सफलताका कथाहरू प्रस्तुत गर्दै अनुशासन, निरन्तर मेहनत र सकारात्मक सोचले सफलता सम्भव हुने धारणा व्यक्त गरेका थिए । उनीहरूको भावनात्मक अभिव्यक्तिले उपस्थित अभिभावक, शिक्षक तथा विद्यार्थीहरूलाई निकै प्रभावित बनाएको थियो ।
कार्यक्रममा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो । विद्यालयले प्रविधिमैत्री शिक्षालाई प्रोत्साहन गर्दै विद्यार्थीलाई आधुनिक शिक्षासँग जोड्ने उद्देश्यले जिपिए ४ ल्याउने विद्यार्थीलाई ब्रान्डेड ल्यापटप प्रदान गरिएको जनाएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो । औपचारिक कार्यक्रम सम्पन्न भएपछि सहभागीहरूले अनौपचारिक नृत्य तथा रात्रिभोजमार्फत खुसी साटासाट गरेका थिए ।
एसईईमा प्राप्त उत्कृष्ट नतिजा र विद्यार्थी सम्मान कार्यक्रमले एन्जल्स हार्ट शैक्षिक परिवारको गुणस्तरीय शिक्षा, अनुशासन र विद्यार्थीप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ । तारकेश्वर क्षेत्रमा आधुनिक, प्रविधिमैत्री र परिणाममुखी शिक्षाको उत्कृष्ट नमुनाका रूपमा स्थापित एन्जल्स हार्टले आगामी दिनमा अझ उच्च शैक्षिक उपलब्धि हासिल गर्ने विश्वास अभिभावक तथा स्थानीय समुदायले व्यक्त गरेका छन् ।
एन्जल्स हार्ट फाउण्डेसनले एसईईमा जिपिए ४ ल्याउने ६ विद्यार्थीलाई दियो ल्यापटप, निशुल्क पढाउने घोषणा


प्रतिक्रिया दिनुहोस्