काठमाडौं । तारकेश्वर नगरपालिकाको कार्यालय नजिकै चौताराको छेउमा निर्माण व्यवसायीले सडकमै ढुंगा थुपारेपछि स्थानीयवासीले आवागमनमा समस्या भएको गुनासो गरेका छन्। नगरपालिकाको मुख्य कार्यालय अगाडि नै निर्माण सामग्री राखिँदा सडक साँघुरो बनेको छ भने व्यस्त समयमा एकतर्फी मात्र सवारी सञ्चालन गर्न मिल्ने अवस्था सिर्जना भएको स्थानीयको भनाइ छ।
उक्त स्थानको ओरालो भागमा पर्खाल निर्माणको काम भइरहेको देखिए पनि निर्माण सामग्री सडकमा थुपार्नुको सट्टा नजिकै रहेको खुला चौरमा राख्न सकिने अवस्था रहेको स्थानीयले बताएका छन्। विशेषगरी बिहान र बेलुकी अफिस तथा विद्यालय बस सञ्चालन हुने समयमा सवारी चाप बढ्ने भएकाले पैदलयात्रु, विद्यार्थी र कार्यालय आउने–जाने कर्मचारीलाई बढी सास्ती भएको गुनासो छ।स्थानीयका अनुसार सडकमा ढुंगा थुपारिँदा सवारी साधन पास गर्न कठिन हुने गरेको छ भने दुर्घटनाको जोखिमसमेत बढेको छ। “नगरपालिकाले अन्य ठाउँमा निर्माण सामग्रीका कारण सडक अवरुद्ध हुँदा नगरप्रहरी परिचालन गरेर सामग्री हटाउने गरेको छ, तर आफ्नै गेटअगाडि भएको अवरोधमा भने वेवास्ता गरिएको देखिन्छ,” एक स्थानीयले भने।
स्थानीयवासीले सार्वजनिक सडकमा निर्माण सामग्री राखेर आवागमन अवरुद्ध गर्नु नियमविपरीत भएको भन्दै नगरपालिकाले निष्पक्ष रूपमा नियम कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्। उनीहरूले निर्माण सामग्री तत्काल व्यवस्थित गरी सडक खुला बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
यस विषयमा नगरपालिकाको आधिकारिक प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन।



प्रतिक्रिया दिनुहोस्