नुवाकोट लिखु ५ कल्छे पाखामा सुविधा सम्पन्न बृद्धाश्रम निर्माण हुने, प्रदेश संसद रमेश महतले गरे बृद्धाश्रमको शिलान्यास

Sagarmatha Post
Sagarmatha Post १४ जेष्ठ २०८३, बिहीबार
4 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । नुवाकोटको लिखु गाउँपालिका वडा नं ५ स्थित कल्छे पाखामा जेष्ठ नागरिकको संरक्षण, सेवा र सम्मानलाई केन्द्रमा राख्दै निर्माण हुन लागेको जेष्ठ नागरिक आश्रमको आज औपचारिक शिलान्यास गरिएको छ । बाग्मती प्रदेश सरकारको ३५ लाख रुपैयाँको लागतमा निर्माण गरिन लागेको उक्त आश्रमको बाग्मती प्रदेशसभा सदस्य रमेश महत ले विधिवत् शिलान्यास गर्नुभएको हो ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण तथा शान्त वातावरण रहेको कल्छे पाखामा निर्माण हुन लागेको आश्रमले जेष्ठ नागरिकका लागि सुरक्षित आवास, नियमित स्वास्थ्य सेवा र आत्मीय हेरचाह उपलब्ध गराउने लक्ष्य लिएको छ । धार्मिक विधिअनुसार सम्पन्न शिलान्यास कार्यक्रममा ब्रहमेश्वर वेद विद्याश्रम गुरुकुलका बटुकहरूले वैदिक मन्त्र उच्चारण तथा स्वस्ती वाचन गरेका थिए ।

May be an image of one or more people and text
भबनको शिलान्यास गदै बाग्मती प्रदेशसभा सदस्य रमेश महतले जेष्ठ नागरिक समाजका अनुभव, संस्कार र इतिहासका जीवित अभिलेख भएको उल्लेख गर्दै उहाँहरूको सम्मान र संरक्षण राज्यको दायित्व भएको बताउनुभयो । उहाँले बाग्मती प्रदेश सरकारले सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धवृद्धामैत्री योजना अघि बढाइरहेको र आश्रम निर्माण त्यसैको एक महत्वपूर्ण हिस्सा भएको धारणा राख्नुभयो ।
उहाँले आधुनिक समाजमा पारिवारिक संरचना परिवर्तन हुँदै जाँदा धेरै जेष्ठ नागरिक एक्लोपन र असुरक्षाको अवस्थामा पुग्न बाध्य भएको उल्लेख गर्दै यस्ता आश्रमले उनीहरूलाई नयाँ आशा र भरोसा दिने विश्वास व्यक्त गर्नुभयो । आवश्यक परे आगामी दिनमा थप सहयोग र बजेट व्यवस्थापनका लागि समेत पहल गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले प्रदेशसभा सदस्य रमेश महतको पहल र समन्वयमा आश्रम निर्माण प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । उहाँले गाउँपालिकाले जेष्ठ नागरिकको स्वास्थ्य, सुरक्षा र सम्मानलाई प्राथमिकतामा राख्दै सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो ।
त्यस्तै, वडा नं १ का अध्यक्ष नरहरी पाण्डेले आश्रम निर्माणसँगै यस क्षेत्र सामाजिक सेवाको नमूना केन्द्रका रूपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष राम मिजारले स्वागत मन्तव्य राख्दै जेष्ठ नागरिक आश्रम निर्माण सामाजिक सेवाको महत्वपूर्ण अभियान भएको बताउनुभयो । उहाँले समाजमा एक्लोपन र असहाय अवस्थाबाट गुज्रिरहेका जेष्ठ नागरिकलाई सम्मानपूर्ण जीवन प्रदान गर्ने उद्देश्यले आश्रम निर्माण थालिएको जानकारी दिनुभयो ।
कार्यक्रम लिखु गाउँपालिका वडा नं ५ का अध्यक्ष विश्व प्रसाद खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका नेता रमेश पाठक, वडा नं १ का अध्यक्ष नरहरी पाण्डे, वडा नं ४ का अध्यक्ष प्रकाश राई, कार्यपालिका सदस्य मिना राई, सुशील मिजार, जेष्ठ समाजसेवी डिल्ली प्रसाद ढकाल, समाजसेवी सरस्वती पाण्डे तथा सरस्वती मल्ल श्रेष्ठ लगायत स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।
बृद्धाश्रममा एकैपटक ५५ जना जेष्ठ नागरिक बस्न सक्ने क्षमता हुनेछ । त्यसमध्ये १६ जनाका लागि विशेष केयर सेवाको व्यवस्था गरिनेछ । आश्रममा केयर गिभर तथा नर्सको समेत व्यवस्था रहने भएकाले जेष्ठ नागरिकको नियमित स्वास्थ्य निगरानी र आवश्यक हेरचाह सहज हुने अपेक्षा गरिएको छ ।आश्रम नजिकै धुलिखेल अस्पतालको उपशाखा सञ्चालनमा रहेकाले स्वास्थ्य उपचार र आकस्मिक सेवामा समेत सहज पहुँच पुग्ने स्थानीयको विश्वास छ । चारैतिर हरियाली जंगलले घेरिएको शान्त र स्वच्छ वातावरणमा निर्माण हुन लागेको आश्रमले जेष्ठ नागरिकलाई मानसिक शान्ति र स्वास्थ्य लाभसमेत प्रदान गर्ने अपेक्षा गरिएको छ ।
पछिल्लो समय वैदेशिक रोजगारी, एकल परिवारको वृद्धि र सामाजिक संरचनामा आएको परिवर्तनका कारण जेष्ठ नागरिकको संरक्षण चुनौतीपूर्ण बन्दै गएको अवस्थामा यस्तो आश्रम निर्माणले समाजमा सेवा, सहअस्तित्व र मानवताको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ । स्थानीयवासीले समेत वृद्धाश्रम निर्माणलाई सकारात्मक र मानवीय कदमका रूपमा स्वागत गरेका छन् ।

No photo description available.

May be an image of one or more people and text that says 'नागरिक आश्रम कल्हे भवन अोष्ठ PRURU लिख.प्र. नुवाकोट शिलान्यास कार्रत्रम मिति मिति:२0८३ २0८३ SYZAS'

May be an image of one or more people and text

May be an image of one or more people and text

May be an image of one or more people and text

fgdfg

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्