रोजमेरी बोर्डिङ आइडल बोडिङ स्कुलमा एसईई बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न

Sagarmatha Post
Sagarmatha Post २२ जेष्ठ २०८३, शुक्रबार
4 Min Read
Aa

रबिन थपलिया । काठमाडौं, तारकेश्वर । तारकेश्वर नगरपालिका–७ स्थित रोजमेरी आइडल बोर्डिङ स्कुलमा एसईई परीक्षार्थीहरूको बिदाइ तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । टुसाल मल्टीभेन्युमा आज आयोजना गरिएको कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ, जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

May be an image of text
कार्यक्रमका प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले यो केवल बिदाइ कार्यक्रम नभई विद्यार्थीहरूलाई जीवनको नयाँ यात्राका लागि सम्झाउने, प्रेरित गर्ने र जिम्मेवारीबोध गराउने अवसर भएको बताए ।
उनले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले तारकेश्वर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि करिब १० करोड रुपैयाँभन्दा बढी लगानी गरेको बताँउदै सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारका लागि भौतिक तथा शैक्षिक स्तर उकास्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताए ।
सामुदायिक विद्यालयहरूमा प्रविधिमैत्री शिक्षाको अभ्यास गराउन स्मार्ट बोर्ड जडान गर्ने स्थानीय तहहरूमध्ये तारकेश्वर नगरपालिका अग्रणी रहेको दावी गदै आगामी दिनमा पनि शिक्षा, खेलकुद तथा बालविकाससँग सम्बन्धित थप कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
मेयर महर्जनले शिक्षा र खेलकुद दुवै क्षेत्रमा नगरपालिकाले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउँदै राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा लगातार तीन पटक उपाधि जितेर तारकेश्वरले इतिहास रचेको उल्लेख गरे।

May be an image of one or more people, dais and text
कार्यक्रमका विशिष्ट अतिथि तथा त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभागका पूर्व विभागीय प्रमुख प्रा. डा. कृष्णचन्द्र शर्माले तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनलाई “शिक्षाप्रेमी नगर प्रमुख”को संज्ञा दिँदै शिक्षा क्षेत्रप्रतिको उनको प्रतिबद्धताको प्रशंसा गरे।
उनले सामुदायिक विद्यालयहरूको विकासका लागि नगरपालिकाले गरेको लगानी र चासोलाई सकारात्मक उदाहरणका रूपमा प्रस्तुत गर्दै नेपालमा शिक्षाको महत्व बुझेर दीर्घकालीन योजना बनाउने नेतृत्व कमै पाइने बताए । “शिक्षा राष्ट्रको आँखा हो। शिक्षालाई केन्द्रमा राखेर विकासको योजना बनाउनु दूरदर्शी नेतृत्वको परिचायक हो,” उनले बताए।
डा. शर्माले निजी तथा सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी नभई सहयात्रीका रूपमा हेर्नुपर्ने धारणा राख्दै दुवै क्षेत्रलाई सन्तुलित रूपमा अघि बढाउन सक्ने क्षमता तारकेश्वर नगरपालिकाको नेतृत्वमा देखिएको उल्लेख गरे। राज्यले सामुदायिक विद्यालयलाई विशेष संरक्षण दिनुपर्ने र निजी विद्यालयहरूको योगदानलाई पनि सम्मान गर्नुपर्ने उनको भनाइ थियो।

May be an image of ‎dais and ‎text that says '‎לוח का ل‎'‎‎
तारकेश्वर नगरपालिकाका शिक्षा शाखा प्रमुख सुधीनराज बुढाथोकीले शिक्षा केवल परीक्षा र प्रमाणपत्रमा सीमित हुन नहुने बताउँदै शिक्षाले राष्ट्रियता, संस्कार, सभ्यता र सामाजिक उत्तरदायित्वसँग जोडिनुपर्ने बताए । उनले विद्यार्थीहरूलाई अनुशासन, नैतिकता र जिम्मेवारीबोधका साथ अध्ययन गर्न आग्रह गर्दै कमजोर विद्यार्थीहरूलाई पनि अवसर र प्रोत्साहन दिनुपर्ने धारणा व्यक्त गरे।

May be an image of one or more people, flute, dais and text
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज महर्जनले विद्यालयले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा विशेष ध्यान दिँदै आएको बताए। उनले विद्यालयबाट बिदाइ हुन लागेका विद्यार्थीहरूले आगामी दिनमा विद्यालय, परिवार र समाजको गौरव बढाउने विश्वास व्यक्त गरे।

May be an image of dais and text
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पुष्प पौडेलले रोजमेरी आइडल बोर्डिङ स्कुलले शैक्षिक क्षेत्रमा निरन्तर उत्कृष्टता हासिल गर्दै आएको बताए। उनले एसईई परीक्षामा विद्यालयका दुई जना विद्यार्थीले पहिलोपटक जीपीए–४ प्राप्त गरेर विद्यालयको इतिहासमा नयाँ कीर्तिमान कायम गरेको उल्लेख गरे। साथै, विद्यालयले करिब ९९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको जानकारी दिँदै यसलाई विद्यालय परिवारका लागि गौरवको विषय भएको बताए।
कार्यक्रममा शिक्षक, अभिभावक तथा अन्य अतिथिहरूले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए। सो अवसरमा कक्षा १० का विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गरी सम्मान तथा बिदाइ गरिएको थियो भने उत्कृष्ट विद्यार्थीहरूलाई नगद सहित सम्मान गरिएको थियो। विद्यार्थीहरूले गीत, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।
उत्साह, प्रेरणा र भावनात्मक वातावरणबीच सम्पन्न कार्यक्रममा वक्ताहरूले एसईई परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरूलाई आत्मविश्वास, अनुशासन, निरन्तर मेहनत र सकारात्मक सोचका साथ अगाडि बढ्न प्रेरित गरेका थिए। विद्यालय परिवारले सम्पूर्ण परीक्षार्थीहरूको सफल भविष्यको कामना गरे ।

May be an image of one or more people, suit and wedding

ghfh

 

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्