रबिन थपलिया ।काठमाडौं । देशकै प्रमुख सरकारी स्वास्थ्य संस्थामध्ये एक राष्ट्रिय ट्रमा सेन्टर ले आफ्नो सीटी स्क्यान मेसिनमा आएको प्राविधिक समस्या ७२ घण्टाभित्रै समाधान गर्दै सेवा पुनः सञ्चालनमा ल्याएको छ। बढ्दो बिरामी चापका बीच अस्पताल व्यवस्थापनले देखाएको सक्रियता र जिम्मेवारीपूर्ण कार्यशैलीको स्वास्थ्य क्षेत्रमै प्रशंसा हुन थालेको छ।
एक महिनाभन्दा बढी समयदेखि वीर अस्पतालको सीटी स्क्यान सेवा बन्द रहेपछि त्यहाँ उपचारका लागि आउने अधिकांश बिरामी राष्ट्रिय ट्रमा सेन्टरमा रेफर हुँदै आएका थिए। जसका कारण ट्रमा सेन्टरमा दैनिक सीटी स्क्यान गराउने बिरामीको संख्या दोब्बरभन्दा बढी बढेको थियो। यसअघि दैनिक औसत २५ जनाको सीटी स्क्यान हुने गरेकोमा पछिल्लो समय दैनिक ६० भन्दा बढी बिरामीले सेवा लिन थालेका थिए।
यस्तो अवस्थामा गत बुधबार ट्रमा सेन्टरको सीटी स्क्यान मेसिनमा प्राविधिक समस्या देखिएपछि सेवा प्रभावित भएको थियो। तर अस्पताल व्यवस्थापन, बायोमेडिकल इन्जिनियर तथा प्राविधिक टोलीको निरन्तर प्रयासका कारण ७२ घण्टाभित्रै मेसिन मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ। अस्पतालले आजदेखि नियमित रूपमा सीटी स्क्यान सेवा उपलब्ध गराउन थालेको जनाएको छ।
स्वास्थ्य संस्थाहरूमा उपकरण बिग्रिएपछि लामो समयसम्म सेवा अवरुद्ध हुने अवस्था सामान्यजस्तै देखिने गरेको भए पनि ट्रमा सेन्टरले छोटो समयमै समस्या समाधान गरेर बिरामीलाई राहत दिएको छ। विशेषगरी बीर अस्पतालको सेवा बन्द हुँदा सिर्जना भएको अतिरिक्त चाप व्यवस्थापन गर्दै मेसिनलाई पुनः सञ्चालनमा ल्याउनु अस्पताल व्यवस्थापनको कार्यक्षमताको उदाहरणका रूपमा हेरिएको छ।
सेवा अवरुद्ध भएका केही दिनमा केही बिरामी निजी अस्पताल तथा डायग्नोस्टिक सेन्टर जान बाध्य भएका थिए। तर अब सेवा पुनः सञ्चालनमा आएसँगै ट्रमा सेन्टरमा आउने दुर्घटना तथा अन्य जटिल अवस्थाका बिरामीले सहज रूपमा सीटी स्क्यान सेवा पाउने भएका छन्।
बढ्दो बिरामी चापका बीच पनि अत्यावश्यक निदान सेवा निरन्तर सञ्चालन गर्ने प्रतिबद्धतासहित ट्रमा सेन्टरले काम गरिरहेको अस्पताल स्रोतले जनाएको छ। स्वास्थ्यकर्मी र सेवाग्राहीहरूले पनि सीमित स्रोतसाधनका बाबजुद छिटो सेवा पुनः सञ्चालन गरिएकोमा अस्पताल व्यवस्थापनप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्।
७२ घण्टामै सञ्चालनमा आयो ट्रमा सेन्टरको सीटी स्क्यान सेवा, एक महिनादेखि बन्द रहेको बीर अस्पतालको सेवाको चाप पनि व्यवस्थापन


प्रतिक्रिया दिनुहोस्