कालिकोट । कालीकोटको खाँडाचक्र नगरपालिका मा नगर उपप्रमुख र शिक्षा अधिकृतबीच कार्यकक्षमै भएको विवादपछि प्रशासनिक गतिविधि प्रभावित बनेको छ।
नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाही र शिक्षा अधिकृत बलिराज शाही बीच सोमबार कार्यालय समयमै चर्को विवाद भएको हो। विवादपछि शिक्षा अधिकृत शाहीले आफ्नो कार्यकक्षमा आएर गालीगलौज, अपशब्द प्रयोग तथा हातपातको प्रयास गरिएको आरोप लगाउँदै शान्ति–सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा प्रवाह स्थगित गरेको बताएका छन्।
शिक्षा अधिकृत शाहीले प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गर्दै दिएको निवेदनमा नियमविपरीत तथा आफ्नो कार्यक्षेत्रभन्दा बाहिरका विषयमा काम गर्न दबाब दिइएको, पटक–पटक फोन र भेटमार्फत गुनासो गरिएको तथा अन्ततः कार्यकक्षमै आएर असुरक्षित वातावरण सिर्जना गरिएको उल्लेख गरेका छन्। उनले छात्रवृत्ति कोष र शिक्षण सहयोग अनुदानअन्तर्गतको रकम असुली सम्बन्धी विषयलाई लिएर धम्की दिइएको दाबी गरेका छन्।
उक्त निवेदनको बोधार्थ नगर प्रमुख, उपप्रमुख तथा जिल्ला प्रशासन कार्यालय कालिकोट लाई समेत दिइएको छ।
यता, उपप्रमुख गणेशबहादुर शाहीले भने आफूमाथि लगाइएका आरोप अस्वीकार गरेका छन्। उनले शिक्षा अधिकृतसँग कुनै हातपात वा दुर्व्यवहार नगरेको दाबी गर्दै शिक्षा शाखाको कार्यसम्पादनबारे जानकारी लिन मात्र कार्यकक्षमा गएको बताएका छन्।
उनका अनुसार शिक्षा शाखाले वार्षिक बजेटको न्यून खर्च गरेको, शिक्षा क्षेत्रमा बेरुजु बढ्ने गरी काम भएको, विद्यालयका बालबालिकाको दिवा खाजा रकम निकासा हुन नसकेको, सङ्घीय अनुदानको बजेट फ्रिज भएको तथा सेनेटरी प्याड खरिदसमेत नभएको विषयमा जवाफ मागिएको थियो।
विवादका कारण नगरपालिकाको नियमित सेवा प्रवाह प्रभावित भएको छ। यसबीच प्रमुख प्रशासकीय अधिकृत सुरेशराज जोशी ले दुवै पक्षबीचको असमझदारी समाधान गर्न तत्काल छलफल गरिने बताएका छन्। उनका अनुसार सेवा प्रवाहलाई नियमित बनाउन र विवाद समाधानका लागि सम्बन्धित पक्षहरूसँग संवादको प्रक्रिया अघि बढाइनेछ।


प्रतिक्रिया दिनुहोस्