वडा अध्यक्षलाई मुक्का हानेपछि पत्रकार पक्राउ

Sagarmatha Post
Sagarmatha Post ८ असार २०८३, सोमबार
1 Min Read
Aa
कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन्। घटनापछि उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि महेन्द्रनगरस्थित एक होटलमा आयोजित सार्वजनिक कार्यक्रममा पुगेर कुँवरले हातपात गरेकी थिइन्। कार्यक्रमका क्रममा दुवै पक्षबीच भनाभन भएपछि कुँवरले वडाध्यक्षमाथि मुक्का प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
घटनालगत्तै वडा प्रहरी कार्यालयको टोलीले कुँवरलाई घटनास्थलबाट नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार उनलाई पक्राउ गरी हिरासतमा राखिएको छ।
वडाध्यक्ष देवकोटाले कुँवरविरुद्ध अभद्र व्यवहारको किटानी जाहेरी दिएपछि सोही आधारमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। अदालतबाट म्याद थपको प्रक्रिया अघि बढाइएको डीएसपी रावतले जानकारी दिए।
यता पत्रकार कुँवरले भने सामाजिक सञ्जालमार्फत आफ्नो पक्ष सार्वजनिक गर्दै वडाध्यक्ष देवकोटाले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि सार्वजनिक कार्यक्रममा भएको विवाद, पत्रकारको पक्राउ र दुवै पक्षबाट लगाइएका आरोप–प्रत्यारोपबारे स्थानीय स्तरमा व्यापक चर्चा भइरहेको छ।
Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्