चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संस्थापक सदस्यहरूलाई स्वतः केन्द्रीय समिति सदस्य बनाउने निर्णय फिर्ता लिएपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ।
पार्टीको असार ४ गते बसेको सचिवालय बैठकले संस्थापक सदस्यहरूलाई स्वतः केन्द्रीय सदस्यको मान्यता दिने निर्णय गरेको थियो। उक्त निर्णयबारे सर्कुलरसमेत जारी गरिएको बताइएको छ।
तर पार्टीमा पछिल्लो समय समायोजनमार्फत आएका नेताहरूले निर्णयप्रति आपत्ति जनाएपछि नेतृत्वले आफ्नो निर्णय पुनर्विचार गर्दै फिर्ता लिएको स्रोतले जनाएको छ।
पार्टी स्थापनाकालदेखि सक्रिय रहेका केही संस्थापक सदस्यहरूले भने निर्णय खारेज गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूको भनाइमा पार्टीले समायोजन प्रक्रियामार्फत ५१ जना केन्द्रीय सदस्य चयन गर्दा संस्थापक सदस्यहरूलाई पनि प्राथमिकतामा राख्नुपर्ने थियो।
एक संस्थापक सदस्यका अनुसार सचिवालय बैठकपछि संस्थापक सदस्यलाई स्वतः केन्द्रीय सदस्य बनाउने निर्णयबारे जानकारी गराइएको भए पनि पछि उक्त निर्णय सच्याइएको सूचना प्राप्त भएको छ।
“पार्टी स्थापना र विस्तारमा योगदान दिएका संस्थापक सदस्यहरूलाई उचित प्रतिनिधित्व दिनुपर्छ। सभापतिले मनोनयन गर्ने सदस्यहरूको सूचीमा संस्थापक सदस्यहरू पनि समेटिनुपर्छ,” ती नेताले बताए।
यसबीच रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा जारी छ। महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयन तथा संगठनात्मक संरचनाबारे महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्