गाउँसभाकै दिन गाउँपालिकाका अध्यक्ष पदमुक्त

Sagarmatha Post
Sagarmatha Post ९ असार २०८३, मंगलवार
2 Min Read
Aa

जुम्ला, असार ९ — जुम्लाको गुठीचौर गाउँपालिका का अध्यक्ष दानबहादुर बुढा गाउँसभा चलिरहेकै दिन पदमुक्त भएका छन्।

दोस्रो स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेस बाट अध्यक्षमा निर्वाचित बुढाले दल परिवर्तन गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि उनको पद स्वतः रिक्त भएको हो।

निर्वाचन आयोगले असार ९ गते सूचना जारी गर्दै बुढाले दल त्याग गरेको जानकारी प्राप्त भएकाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२(१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम उनको पद रिक्त भएको जनाएको छ। आयोगको २०८३ असार ८ गतेको निर्णयअनुसार बुढाको अध्यक्ष पद स्वतः समाप्त भएको सूचनामा उल्लेख गरिएको छ।

केही समयअघि रास्वपामा प्रवेश गरेका बुढाविरुद्ध कांग्रेस जुम्लाले कारबाहीको सिफारिस गरेको थियो। त्यसपछि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले उनले दल त्याग गरी अर्को दलमा प्रवेश गरेको निर्णय गर्दै निर्वाचन आयोगलाई जानकारी गराएको थियो।

बुढाले भने यसअघि आफूलाई कांग्रेस पार्टीले नभई गुठीचौरका जनताले निर्वाचित गराएको भन्दै पद खोस्न चुनौती दिएका थिए। तर आयोगको निर्णयसँगै उनको पद औपचारिक रूपमा रिक्त भएको छ।

यसैबीच, कांग्रेसबाट निर्वाचित अन्य दुई जनप्रतिनिधिको पद पनि खारेज भएको छ। पदमुक्त हुनेमा फातिमा खातुन अन्सारीविष्णु ढकाल रहेका छन्। अन्सारी पाल्हीनन्दन गाउँपालिका की उपाध्यक्ष तथा ढकाल बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष हुन्।

दल परिवर्तनका कारण निर्वाचित जनप्रतिनिधिको पद गुम्ने कानुनी व्यवस्था अनुसार आयोगले उनीहरूको पद पनि रिक्त भएको जनाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्