रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका–१० स्थित लालीगुराँस नेसनल एकाडेमीले आयोजना गरेको ‘उत्कृष्टता सम्मान एवं शुभयात्रा कार्यक्रम–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ। तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्र, स्थानीय सरकार, अभिभावक तथा विद्यालय परिवारका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रमुख अतिथि कृष्णहरि महर्जनले गुणस्तरीय शिक्षा, आधुनिक पूर्वाधार र विद्यार्थीमैत्री वातावरण निर्माणमा नगरपालिका प्रतिबद्ध रहेको बताँउदै सामुदायिक र संस्थागत विद्यालयबीचको सहकार्य र स्वस्थ प्रतिस्पर्धाले समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
तारकेश्वर नगरपालिकाले शिक्षामा लगानी गरेका कारण प्रतिफल राम्रो आइरहेको बताँउदै नगरप्रमुख महर्जनले २०७९ सालको एसईईमा ३२ प्रतिशत उत्रिण भईरहेका तारकेश्वरका समुदायिक विद्यालयले ८२ सालमा ८९.७३ प्रतिशत विद्यार्थी उत्रिर्ण गराउनु महत्वपुर्ण उपलव्धी हासील गरेको बताउनुभयो ।
“हिजो शिक्षा क्षेत्रमा नगरपालिकाको लगानी करिब १ करोड ३० लाख रुपैयाँ थियो, आज त्यो बढेर करिब १० करोड रुपैयाँ पुगेको छ,” महर्जनले भन्नुभयो, “लगानी बढेपछि त्यसको प्रतिफल के आयो भन्ने कुरा नतिजाले देखाएको छ।”
नगर प्रमुख महर्जनले शिक्षालाई केवल परीक्षा र प्रमाणपत्रमा सीमित राख्न नहुने बताउँदै आधुनिक प्रविधि र व्यवहारिक ज्ञानसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले कम्प्युटर शिक्षा, विज्ञान तथा प्रविधि, रोबोटिक्स, नवप्रवर्तन र सीपमूलक शिक्षालाई विद्यालय तहदेखि नै विस्तार गर्न नगरपालिका प्रतिबद्ध रहेको जानकारी दिनुभयो। “आजको आवश्यकता केवल किताबको ज्ञान होइन, प्रविधिसँग प्रतिस्पर्धा गर्न सक्ने, अनुसन्धानमा रुचि राख्ने र विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्नु हो,” उहाँले भन्नुभयो।

कार्यक्रमका शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख सुरेश जोसीले सामुदायिक र संस्थागत विद्यालयबीच अनुभव आदान–प्रदान र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले शिक्षालाई केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यमका रूपमा नभई सीप, क्षमता र जीवनोपयोगी शिक्षासँग जोड्न आवश्यक रहेको बताउनुभयो।
काठमाडौं जिल्लामा अध्ययनरत विद्यार्थीमध्ये ठूलो संख्या संस्थागत विद्यालयमा आबद्ध रहेको उल्लेख गर्दै उहाँले सामुदायिक विद्यालयलाई समेत उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्नु आजको आवश्यकता भएको धारणा राख्नुभयो। परीक्षा व्यवस्थापन, मूल्याङ्कन प्रणाली, उत्तरपुस्तिका परीक्षण तथा शैक्षिक विश्वसनीयता अभिवृद्धिका लागि स्थानीय तह, विद्यालय र सरोकारवालाबीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल गोपाल बुढाथोकीले विद्यार्थीको समग्र विकासका लागि ‘माइन्ड, हार्ट र ह्यान्ड’ अर्थात् बुद्धि, भावना र सीपको सन्तुलित विकास आवश्यक रहेको बताउनुभयो। उहाँले शिक्षाको उद्देश्य केवल पाठ्यपुस्तकमा सीमित नरही विद्यार्थीको बौद्धिक, भावनात्मक तथा व्यवहारिक क्षमताको विकास गर्नु रहेको उल्लेख गर्नुभयो। “हरेक विद्यार्थीमा फरक–फरक क्षमता र प्रतिभा हुन्छ। ती क्षमताको पहिचान गरी जीवनोपयोगी सीपसँग जोड्न सकियो भने मात्र शिक्षाले वास्तविक अर्थमा समाज र राष्ट्रलाई योग्य नागरिक दिन सक्छ,” उहाँले भन्नुभयो।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जुद्धबहादुर पुनले विद्यालयले केवल परीक्षाको नतिजालाई मात्र प्राथमिकतामा नराखी विद्यार्थीको व्यक्तित्व विकास, नेतृत्व क्षमता, सिर्जनशीलता तथा व्यवहारिक सीप विकासमा विशेष ध्यान दिइरहेको बताउनुभयो। आधुनिक शिक्षण पद्धति र विद्यार्थी केन्द्रित सिकाइ प्रक्रियामार्फत हरेक विद्यार्थीको प्रतिभा उजागर गर्ने वातावरण विद्यालयले निर्माण गरिरहेको उहाँको भनाइ थियो।
“हरेक विद्यार्थीभित्र सम्भावना हुन्छ। शिक्षकको भूमिका केवल पाठ पढाउने मात्र होइन, विद्यार्थीको क्षमता पहिचान गरी उसको आत्मविश्वास र व्यक्तित्व विकासमा योगदान पु¥याउनु पनि हो,” अध्यक्ष केसीले बताउनुभयो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयकी सहायक प्रधानाध्यापक सुजिता काफ्ले उदासले कार्यक्रम केवल औपचारिक समारोह नभई विद्यार्थीहरूको उपलब्धिको उत्सव भएको बताउनुभयो। उहाँले विद्यालयबाट उच्च शिक्षाको नयाँ यात्रामा अघि बढ्न लागेका विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्दै शैक्षिक, खेलकुद, सिर्जनात्मक तथा विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरी विद्यालय र राष्ट्रको गौरव बढाउने विद्यार्थीहरूलाई सम्मान गर्न पाउँदा विद्यालय परिवार गौरवान्वित भएको बताउनुभयो। “हामीले विद्यार्थीलाई केवल शैक्षिक ज्ञान मात्र होइन, अनुसन्धान, नैतिकता, नेतृत्व क्षमता, अनुशासन र सामाजिक जिम्मेवारीका मूल्यहरू पनि सिकाउने प्रयास गरेका छौँ,” उहाँले भन्नुभयो, “विद्यार्थीहरू जहाँसुकै पुगे पनि विद्यालयले दिएका ज्ञान, सीप र संस्कारलाई आत्मसात् गर्दै आत्मविश्वासका साथ अघि बढून् भन्ने हाम्रो अपेक्षा छ।”
कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं. १० का अध्यक्ष कुमार राई, तारकेश्वर नगरपालिकाको शिक्षा शाखा प्रमुख सुधिनराज बुढाथोकी, तारकेश्वर खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्का, विद्यालयका संस्थापक लोकबहादुर पुन, निवर्तमान अध्यक्ष फनबहादुर जिसी, विद्यालय व्यवस्थापन समितिका सदस्य शंकरदास राजबाहक, पीटीए अध्यक्ष शान्ताराम राजबाहक, विद्यालय व्यवस्थापक सम्भु आचार्य लगायत जनप्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा शैक्षिक, खेलकुद, सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै माध्यमिक शिक्षा पूरा गरी उच्च शिक्षाको यात्रामा अघि बढ्न लागेका विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्दै ‘शुभयात्रा’ कार्यक्रमसमेत आयोजना गरिएको थियो।


ffd



df


प्रतिक्रिया दिनुहोस्