काठमाडौं, १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको केन्द्रीयस्तरीय एथलेटिक्स प्रतिस्पर्धामा स्वर्ण पदक जित्न सफल मानसिंह धर्म माध्यमिक विद्यालय, तारकेश्वर–१० का विद्यार्थी अभिषेक ढुङ्गेललाई आइतबार विद्यालयमा आयोजित विशेष कार्यक्रममा सम्मान गरिएको छ।
विद्यालयमा आयोजित कार्यक्रममा तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जनले ढुङ्गेललाई सम्मान गर्दै शिक्षा र खेलकुद दुवै क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई नगरपालिकाले निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले अभिषेकको उपलब्धिले विद्यालय, समुदाय र नगरपालिकाको गौरव बढाएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिनुभयो।
सम्मान कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, शिक्षा शाखा प्रमुख सुधिनराज बुढाथोकी, वडा नं. १० का अध्यक्ष कुमार राई, विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
ढुङ्गेलले १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगर, जिल्ला, प्रदेश हुँदै केन्द्रीयस्तरसम्म प्रतिस्पर्धा गर्दै चार पदक जित्न सफल भएका छन्। केन्द्रीयस्तरको एथलेटिक्स प्रतिस्पर्धामा स्वर्ण पदक जित्दै उनले विद्यालय र तारकेश्वर नगरपालिकाको नाम राष्ट्रियस्तरमा चिनाउन सफल भएका हुन्।
कार्यक्रममा विद्यार्थीको उल्लेखनीय उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता प्रतिभालाई प्रोत्साहन र सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।


fg


प्रतिक्रिया दिनुहोस्