वरिष्ठ प्रहरी अधिकृतको सरुवाबारे फैलाइएका भ्रमपूर्ण समाचारप्रति नेपाल प्रहरीको आपत्ति, तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न आग्रह

Sagarmatha Post
Sagarmatha Post २५ असार २०८३, बिहीबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाडौं — नेपाल प्रहरीले वरिष्ठ प्रहरी अधिकृतहरूको काज तथा सरुवासम्बन्धी विषयलाई लिएर पछिल्ला दिनमा विभिन्न सञ्चारमाध्यम, अनलाइन पोर्टल तथा सामाजिक सञ्जालमा प्रकाशित र प्रसारित भएका समाचार, टिप्पणी तथा विश्लेषणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रहरी प्रधान कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै तथ्य र आधिकारिक जानकारीबिना अनुमानका आधारमा समाचार सम्प्रेषण गर्दा आमनागरिकमा भ्रम फैलिने, सार्वजनिक संस्थाप्रतिको विश्वास कमजोर हुने तथा नियमित प्रशासनिक प्रक्रियासमेत अनावश्यक विवादमा तानिने अवस्था सिर्जना भएको उल्लेख गरेको छ।

प्रहरी प्रवक्ता अभिनारायण काफ्लेद्धारा जारी विज्ञप्तीमा वरिष्ठ प्रहरी अधिकृतहरूको काज तथा सरुवा मानवस्रोत विकास विभागअन्तर्गत कर्मचारी प्रशासन शाखाबाट प्रचलित कानुनी व्यवस्था, स्थापित प्रशासनिक प्रक्रिया तथा नियमित कर्मचारी व्यवस्थापन प्रणालीअनुसार गरिएको उल्लेख छ। उक्त निर्णय कुनै विशेष घटना, अनुसन्धान, उजुरी, दबाब वा अन्य चर्चासँग सम्बन्धित नभई नियमित प्रशासनिक कार्यको हिस्सा भएको नेपाल प्रहरीको स्पष्ट भनाइ छ।

विज्ञप्तिमा पछिल्लो समय सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा सरुवालाई विभिन्न अनुसन्धान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सम्बन्धित गतिविधि तथा अन्य संवेदनशील विषयसँग जोडेर अपुष्ट दाबी गरिएका समाचार सार्वजनिक भएकोप्रति असन्तुष्टि व्यक्त गरिएको छ। यस्ता सामग्रीले वास्तविक तथ्यलाई ओझेलमा पार्नुका साथै संस्थागत छविमा नकारात्मक असर पुर्‍याउने प्रहरीको भनाइ छ।

नेपाल प्रहरीले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई कुनै पनि समाचार वा टिप्पणी प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट आधिकारिक जानकारी लिन आग्रह गरेको छ। तथ्य पुष्टि नगरी अनुमानका आधारमा सूचना सम्प्रेषण गर्दा नागरिकमा अन्योल सिर्जना हुने, प्रशासनिक प्रणालीप्रति अविश्वास बढ्ने तथा गलत सूचना फैलिने जोखिम रहने भएकाले जिम्मेवार र तथ्यमा आधारित पत्रकारितालाई प्राथमिकता दिन अनुरोध गरिएको छ।

प्रहरीले आफ्नो सम्पूर्ण प्रशासनिक निर्णय कानुनी व्यवस्था, पारदर्शिता, निष्पक्षता तथा सुशासनका सिद्धान्तअनुसार हुने दोहोर्‍याउँदै भविष्यमा पनि स्थापित प्रशासनिक प्रणालीको पालना गर्दै जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, कुनै पनि विषयमा भ्रम वा जिज्ञासा भए आधिकारिक स्रोतबाट जानकारी लिन सबै सरोकारवालालाई आग्रह गरिएको छ।

May be a graphic of text

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्