रबिन थपलिया । काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–३ तीनपिप्लेस्थित एक रेस्टुरेन्टमा अवैध रूपमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले छापा मार्दै २४ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार राति करिब १ बजे विशेष सूचनाका आधारमा परिसर टेकु र प्रहरी वृत्त बालाजुको संयुक्त टोलीले छापा मारेको हो।
प्रहरीले घटनास्थलबाट नगद ९ लाख ८० हजार २ सय ५८ रुपैयाँ, ३ बुक तास र ४४ वटा कौडा बरामद गरेको जनाएको छ। पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
अवैध जुवातास सञ्चालन भइरहेको सूचनापछि प्रहरी टोलीले अचानक छापा मार्दा जुवामा संलग्न व्यक्तिहरू रंगेहात पक्राउ परेको प्रहरीको दाबी छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले जुवा तथा अन्य गैरकानुनी गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई अझ कडा बनाइने जनाएको छ। साथै यस्ता गतिविधिबारे सूचना भए तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस्